
काठमाडौं ।
दक्षिण कोरियाका आर्टिफिसियल इन्टेलिजेन्स चिप निर्माता कम्पनीहरु रेबेलियन्स इंक तथा सापियन कोरिया इंक एक आपसमा गाभिने भएका छन्। यी दुवै कम्पनीले आइतबार संयुक्त विज्ञप्ति निकाल्दै आफूहरु एक आपसमा मर्ज हुने एउटा ठोस समझदारीमा हस्ताक्षर गरेको बताएका हुन्।
यी दुवै कम्पनीले एक आपसमा गाभिने कुराको घोषणा भने गत जुन महिनामै गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। दक्षिण कोरियका यी दुई कम्पनीबीचको हालैको सम्झौता एनभिडिया लगायतका वैश्विक एआई चिप निर्माता कम्पनीहरुका लागि चुनौतीका रुपमा हेरिएको छ।
सापियनका सेयरधनीमा दक्षिण कोरियाको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एसके टेलिकम तथा विश्वकै दोस्रो सबैभन्दा ठूलो मेमोरी चिप निर्माता एसके हाइनिक्सलगायत रहेका समाचारमा उल्लेख छ।
रेबेलियन्सले गत जुलाईमा साउदी अराम्कोको पुँजी परिचालन संस्था वा’यड भेन्चर्सबाट डेढ करोड लगानी प्राप्त गरेको थियो। उक्त लगानीपछि रेबेलियन्सको समग्र लगानी ;साढे २२ करोड पुगेको उल्लेख छ।
प्रकाशित: ३ भाद्र २०८१, सोमबार