नागरिकको गुनासो सम्बोधन गर्न ‘हेलो सिएम’ को शुभारम्भ

Technology Khabar ३१ श्रावण २०८१, बिहीबार

काठमाडौं ।

कोशी प्रदेश सरकारले आजदेखि जनताको गुनासो सुन्न र सम्बोधन गर्नका लागि ‘हेलो सिएम’ गुनासो व्यवस्थापन प्रणालीको सुरु गरेको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘हेलो सिम’ एवं गुनासो व्यवस्थापन प्रणाली एवं कक्षको डिजिटल माध्यमबाट शुभारम्भ गरेका छन्।

हाललाई बिहान १० देखि ५ बजेसम्म सरकारी तथा सार्वजनिक निकायबाट भएक काम कारबाहीका सम्बन्धमा प्रत्यक्ष एवं सरल तरिकाले गुनासो गर्न सकिने र प्राप्त गुनासोलाई शीघ्र सम्बोधन गरी सुशासनको प्रत्याभूति गर्नु मुख्य उद्देश्य रहेको छ।

प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०७६ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारद्वारा निर्देशिका बनाइ पोर्टल सञ्चालन गरिएको हो।

मुख्यमन्त्री कार्कीले पोर्टलबाट शासकीय सुधारमा सहयोग पुग्ने बताए। उनले सरकारका विभिन्न सेवा र निकायका काम कारबाहीलाई प्रभावकारी बनाउन पोर्टलको माध्यमबाट महत्त्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले सुशासनबाट जनतालाई राहत दिन सकिने भएकाले यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न कर्मचारीलाई निर्देशन दिए। उनले जनताको जीउधन र विपद्सँग जोडिएका आपत्कालीन काममा तीब्रगतिमा प्रभावकारी तुल्याउन प्रभावकारी हुने विश्वास व्यक्त गरे।

प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले यो सेवाले सुशासन वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अलग कक्ष निर्माण गरी कर्मचारीको व्यवस्थापन गरेर ‘हेलो सिएम’ सञ्चालनमा ल्याइएको छ।

कोशी प्रदेश सरकारसँग भएका गुनासो वा अन्य सहयोगका लागि टोल फ्रि नम्बर १६६०२१५२००२ मा फोन गर्न वा https://hellocm.koshi.gov.np मा आफ्नो गुनासा राख्न सकिनेछ। आगामी केही दिनपछि २४ घण्टा यो सेवा सञ्चालन गरिनेछ।

प्रकाशित: ३१ श्रावण २०८१, बिहीबार

तपाइको प्रतिक्रिया