Technology Khabar ३० श्रावण २०८१, बुधबार
काठमाडौं ।
फेसबुक र इन्स्टाग्राममा आफूहरूको अनुहार र गलत जानकारी प्रयोग गरेर नक्कली विज्ञापनहरूको चलाएकाे आरोपमा पोल्यान्डका अरबपति रफाल ब्रजोस्का र उनकी श्रीमतीले मेटाविरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन्।
तयारी गरे पनि यो मुद्दा कहाँ दायर गर्ने भन्ने बारेमा अझै निर्णय नभएको ब्रजोस्कालाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ। यो कदम प्रयोगकर्ताहरूले समस्या जानकारी गराउँदा पनि त्यस्ता नक्कली विज्ञापनहरू लगातार देखिइरहने समस्याबारे संसारभरिका इन्टरनेट कम्पनीलाई जिम्मेवार बनाउन भइरहेको प्रयासहरूकै थप हिस्सा भएको उल्लेख गरिएको छ।
मेटाका एक प्रवक्ताले कम्पनीले थाहा पाउनेबित्तिकै यस्ता मिथ्या विज्ञापनहरु आफ्ना प्लेटफर्मबाट हटाउने साथै यस प्रकारका स्क्यामरहरुबाट बच्न स्थानीय अधिकारप्राप्त निकायहरुसँग सहकार्य गर्ने गरेको बताए।
पोल्याण्डको पार्सल लकर कम्पनी इनपोस्टका सर्जक ब्रजोस्काले आफूले मेटालाई यो समस्याबारे गत जुलाईको शुरुवातमै जानकारी गराएको भए पनि कम्पनीले यसको समाधान खोज्न नसकेको बताए।
‘हामी मेटाविरुद्ध निजी मुद्दा हाल्ने तयारीमा छौं। तर कुन अदालतमा मुद्दा हाल्ने भन्नेबारेमा तय भइसकेको छैन। हामी आउँदो हप्ताभित्र यसबारे निर्णय गर्नेछौं,’ ब्रजोस्काले भने, ‘यूरोपमा मुद्दा दर्ता गरेर काम नबन्ने अवस्था आएमा हामी अमेरिकामा मुद्दा दर्ता गर्नका सबै परिदृश्यहरु मसिनो गरी नियालिरहेका छौं।’
श्रीमतीसहित ब्रजोस्काले मेटालाई लाई आफ्नो निजी गोपनीयत उल्लङ्घन गर्ने सामग्री प्रवर्द्धन गरेर फाइदा उठाउन रोक्न र क्षतिपूर्तिस्वरुप च्यारिटीमा जानेगरी यस प्रकारको गलत सूचनाबाट भएको विज्ञापन राजस्वको स्तर अनुरूपको ठूलो रकम माग गर्ने बुझिएको छ।
गत हप्ता पोल्यान्डको व्यक्तिगत डाटा संरक्षण कार्यालयका अध्यक्षले आयरल्याण्डमा रहेको मेटाको कार्यालयलाई पोल्यान्डमा फेसबुक र इन्स्टाग्राममा ब्रजोस्का र उनकी श्रीमतीको वास्तविक डाटा र तस्वीरहरू प्रयोग गरेर बनाइएका झूटा विज्ञापनहरू तीन महिनासम्म रोक्ने निर्देशन दिएका थिए।
प्रकाशित: ३० श्रावण २०८१, बुधबार