रोष्टरमा नाम दर्ता गर्न परामर्शदातालाई दूरसञ्चार प्राधिकरणको आह्वान

  • Technology Khabar | ३० श्रावण २०८१, बुधबार
रोष्टरमा नाम दर्ता गर्न परामर्शदातालाई दूरसञ्चार प्राधिकरणको आह्वान

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले आफूलाई  आ.व. २०८१/८२ मा आवश्यक पर्ने परामर्श सेवा खरिद गर्नका लागि सम्बन्धित परामर्शदातृ निकायलाई मौजुदा सूची (रोस्टर) मा दर्ताका लागि आह्वान गरेको छ।

प्राधिकरणले सोमबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐनको दफा ६ (क) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ (संशोधन सहित) तथा नेपाल दूरसञ्चार प्राधिकरण खरिद विनियमावाली, २०७३ को विनियम २२ मा भएको कानूनी व्यवस्था बमोजिमको काम गर्ने उद्देश्यका लागि भन्दै उक्त आह्वान गरेको हो।

सूचनामा यस प्रकारको कार्य गर्न इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटको लिंक (https://standinglist.nta.gov.np/ मा आवश्यक विवरण भरी सूचीकृत गर्न आग्रह गरेको हो।

यसबाहेक यसअघिको आ.व. २०८०/८१ मा प्राधिकरणमा सूची दर्ता भएका व्यक्ति, फर्म, संस्था वा कम्पनीले आ.व. २०८१/८२ मा मौजुदा सूचीमा अद्यावधिक गर्न चाहेमा मौजुदा सूचीमा पुनः सूचीकृत गर्न सक्ने पनि जनाइएको छ।

प्राधिकरणका अनुसार रीत नपुगी आएका निवेदनलाई मान्यता नदिइने साथै दर्ता भएका निवेदनहरू सूचीकृत गर्ने वा नगर्ने भन्ने सम्पूर्ण अधिकार प्राधिकरणमै सुरक्षित रहने पनि प्रस्ट पारेको छ ।

अनलाइनबाट सूचीमा दर्ता गर्दा आवश्यक कागजातहरु:

क) संस्था दर्ता वा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि

ख) स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिपि

ग) मू.अ.कर दर्ताको प्रमाणपत्र (मू.अ.करमा दर्ता हुनेको हकमा मात्र) को प्रतिलिपि

घ) आर्थिक वर्ष २०७९ / ८० को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

ङ) प्रचलित कानून बमोजिम अयोग्य नभएको वा कालोसूचीमा नपरेको व्यहोरा खुलाइएको स्वः घोषणाको निवेदन

च) व्यवसायिक इजाजतपत्रको प्रमाणपत्रको प्रतिलिपि

छ) कम्पनी ऐन, २०६३ को दफा ४६ को उपदफा १० अनुसार तयार गरिएको शेयरधनी र डिबेन्चरवालाको दर्ता कितावको प्रमाणित प्रतिलिपि ।

 

प्रकाशित: ३० श्रावण २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार