
काठमाडौं ।
नेपाली स्याटलाइट ‘मुनाल’ भारतको एनएसआईएल (न्यू स्पेस इन्डिया लिमिटेड) मार्फत प्रक्षेपण हुने भएको छ । हिजो शनिबार उक्त स्याटलाइट प्रक्षेपणमा सहयोग गर्नका लागि भारतको राजधनी नयाँ दिल्लीमा भारतीय विदेश मन्त्रालय र एनएसआईएल बीच अनुदान सहयोग उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
छोटकरीमा एनसिलका रुपमा चिनिने न्यू स्पेस इण्डिया लिमिटेड (एनएसआईएल) भारतको अन्तरिक्ष विभाग अन्तर्गतको केन्द्रीय निजी क्षेत्रको संस्था हो।
भारतकै दुई पक्षबीच भएको उक्त समझदारी पत्रमा भारतको विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तव तथा एनएसआईएलका निर्देशक अरुणाचलम एले हस्ताक्षर गरेको भारतको विदेश मन्त्रालयले जनाएको छ।
उक्त हस्ताक्षर कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्ट का सचिव डा. रविन्द्र प्रसाद ढकाल, भारतका लागि नेपाली दूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा तथा अन्तरिक्ष प्रतिष्ठान नेपाल एपीएनका संस्थापक डा. आभास मास्केको पनि उपस्थिति रहेको थियो।
यसबारे भारतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जैसवालले एक्स (पहिलेको ट्विटर ) मा लेखेका छन्, ‘ नेपालको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट को सहयोगमा तयार पारिएको मुनाल स्याटलाइट अनुदानका रुपमा एनएसआईएलको पोलर स्याटलाइट लञ्च भेइकलमार्फत् प्रक्षेपण गरिनेछ।’
उनले आजको यो समझदारीमा भएको हस्ताक्षरलाई ‘नेपाल र भारत अन्तरिक्ष साझेदारीको महत्वपूर्ण कोशेढुंगा’ को संज्ञा दिएका छन्।
भारतीय विदेश मन्त्रालयले गत जनवरी ४ का दिन भारतका विदेशमन्त्री ज्वाइन्ट कन्सल्टेटिभ मशीनरी मिटीङको सह-सभापतित्वका लागि नेपाल आएका बेला उनकै उपस्थितिमा नास्ट र एनएसआईएलबीच उक्त स्याटलाइट प्रक्षेपण सेवासम्बन्धी समझदारीमा हस्ताक्षर भएको उल्लेख गरेको छ।
मन्त्रालयले नेपालको अन्तरीक्ष स्टार्टअप कम्पनी एपीएनले नेपाली विद्यार्थीहरुलाई मुनाल स्याटलाइट डिजाइन तथा तयार गर्न सहयोग गरेको उल्लेख गर्दै उक्त स्याटलाइटले पृथ्वीको सतहमा रहेको हरियालीको घनत्वबारे डाटाबेस तयार पार्ने उद्देशेय राखेको पनि जनाएको छ।
यसबाहेक उक्त स्याटलाइट छिट्टै नै एनएसआईएलको पोलर स्याटलाइट लञ्च भेइकलमार्फत् प्रक्षेपण हुने पनि भारतीय विदेश मन्त्रालयले बताएको छ।
प्रकाशित: २७ श्रावण २०८१, आईतवार