टर्किएमा ९ दिनपछि खुल्यो इन्स्टाग्राम माथिको प्रतिबन्ध

Technology Khabar २७ श्रावण २०८१, आईतवार

काठमाडौं ।

टर्किएमा इन्स्टाग्राममाथि लगाइएको प्रतिबन्ध ९ दिनपछि खुलेको छ। टर्किएले शनिबार सामाजिक सञ्जाल इन्स्टाग्राममाथि लागाइएको प्रतिबन्ध फुकुवा गरेको बताएको हो। इन्स्टाग्रामले सरकारको चिन्तालाई निराकरण गर्न सम्बन्धित अधिकार प्राप्त निकायसँग सहकार्य गर्न तयार भएपछि प्रतिबन्ध फुकसवा भएको बुझिएको छ।

टर्किएले उक्त सामाजिक सञ्जालको पहुँचमाथि गत अगस्ट २ तारिखका दिन प्रतिबन्ध लगाएको थियो। उसले इन्स्टाग्राममाथि देशको कानून र नियमअन्तर्गत काम गर्न नसकेको तथा जनताको संवेदनशीलतालाई पनि ख्याल नगरेको आरोप लगाउँदै प्रतिबन्ध लगाएको हो।

टर्किएका एक वरिष्ठ अधिकारीले इन्स्टाग्राममाथि प्यालेस्टिनी सशस्त्र समूहका नेता इस्माइल हानियेको हत्याबारे समवेदना प्रकट गरेका पोस्ट हटाएको आरोप लगाए।

टर्किएले इजरायलले गाजामाथि गरेको आक्रमणलाई अपराधको संज्ञा दिँदै तत्काल युद्धविरामका लागि आग्रह गरेको साथै इजरायललाई पश्चिमा देशहरुले सहयोग गरेको आरोप लगाउँदै त्यसको भर्त्सना पनि गरे।

९ दिनसम्म चलेको उक्त प्रतिबन्धले उक्त प्लेटफर्ममार्फत् आफ्ना ग्राहकसमक्ष पुग्ने प्रयोगकर्ता तथा साना व्यवसायीलाई प्रतिकारमा उत्रन उक्साएको रोयटर्सले उल्लेख गरेको छ।

इन्स्टाग्रामका समग्र प्रयोगकर्ताको सङ्ख्याका आधारमा टर्किए विश्वमा पाँचौं नम्बरमा आउँछ । यहाँका लगभग पौने ६ करोड जनताले इन्स्टाग्राम चलाउँछन् । स्टाटिस्टाका अनुसार यो सूचीमा भारत, अमेरिका, ब्राजिल र इन्डोनेसिया क्रमश: पहिलो, दोस्रो, तेस्रो र चौथो नम्बरमा रहेका छन्।

प्रकाशित: २७ श्रावण २०८१, आईतवार

तपाइको प्रतिक्रिया