Technology Khabar २७ श्रावण २०८१, आईतवार
काठमाडौं ।
ब्लूमबर्गको पछिल्लो रिपोर्टले यो वर्षको अक्टोबर महिनाको अन्त्यमा एप्पलको एम४ चिप सार्वजनिक हुनुका साथै पूर्ण रुपमा नयाँ म्याक मिनी देखिने सुझाव दिएको छ।
यसैगरी यसले मिनीको पहिलो प्रमुख रिडिजाइन भएको जनाउनुका साथै यो एप्पल टिभी फोरके जस्तै सानो फुटप्रिन्टमा आउने थप उल्लेख गरिएको छ।
जीएसएमएरिनाका अनुसार एप्पल टिभी फोरके ३.१ × ९.३ सेन्टिमिटरको हुनेछ जबकि हालको एम२ म्याक मिनी भने ३.६ × १९.७ सेन्टिमिटरको रहेको छ। त्यसैगरी नयाँ मिनीले आफ्नो पूर्ववर्तीको एल्युमिनियम सेल (खोल) लाई कायम राख्नुका साथै एप्पल एम४ चिप र एम४ प्रोसँग सुसज्जित भएर दुई भेरियन्टमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।
आई/ओ अर्थात् इनपुट आउटपुटको सन्दर्भमा भने आगामी म्याक मिनीमा ३ ओटा यूएसबी–सी पोर्टहरू, एउटा एचडीएमआई पोर्ट र पावर इनपुट रहने अपेक्षा गरिएको छ।
एप्पलले यो वर्ष आफ्नो आईम्याक र म्याकबुक प्रो लाइनअपहरू एम४ चिप्सका साथ अपडेट गर्नेछ भने म्याक प्रो, म्याक स्टुडियो, र म्याकबुक एयरले सन् २०२५ मा नयाँ चिपहरू प्राप्त गर्ने तालिका रहेको ब्लूमबर्गलाई उद्धृत गर्दै जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २७ श्रावण २०८१, आईतवार