अमेरिकामा अब घरहरु पनि थ्रीडी प्रिन्टरबाट प्रिन्ट हुन थाले, मूल्य साढे ४ लाख डलरमाथि

Technology Khabar २६ श्रावण २०८१, शनिबार

अमेरिकामा अब घरहरु पनि थ्रीडी प्रिन्टरबाट प्रिन्ट हुन थाले, मूल्य साढे ४ लाख डलरमाथि
तस्बिर सौजन्य: इन्ग्याजेट

काठमाडौं ।

अमेरिकाको टेक्ससमा थ्रीडी प्रिन्टरबाट प्रिन्ट गरेका घरहरु हाल निकै प्रख्यात भएका छन्। दुई वर्षअघि एउटा कम्पनीले थ्रीडी प्रिन्टरमा प्रिन्ट गरेर बनाएका घरहरुको एउटा कोलोनी नै बनाउने लक्ष्य हालै पूरा भएको अन्तरराष्ट्रिय समाचार संस्था इन्ग्याजेटले जनाएको छ।

अर्को समाचार संस्था रोयटर्सको रिपोर्टलाई उद्धृत गर्दै लेखिएको समाचारमा वुल्फ र्याञ्च नाम गरेको कम्युनिटी अर्थात् कोलोनीमा रहेका ती घरहरु ४५ फीट चौडाई र पौने ५ टन तौल भएको भल्कन नामक भयंकर थ्रीडी प्रिन्टरबाट प्रिन्ट गरिएका हुन्।

थ्रीडी प्रिन्ट गरिएका घरको यो परियोजना थ्रीडी प्रिन्टिङ कन्स्ट्रक्सन डेभलपर आईकन तथा होम कन्स्ट्रक्सन कम्पनी लेन्नारबीचको सहकार्यमा तयार गरिएको हो । यो परियोजना सन् २०२२ को नोभेम्बरमा शुरु भएको हो भने यसका कर्मचारीहरु यो भल्कनबाट प्रिन्ट गरेर १०० ओटा घर बनाउने प्रारम्भिक लक्ष्य गृष्मऋतुभित्र पूरा गर्न लागिपरिरहेका बताइएको छ।

यसरी हुन्छ घर प्रिन्ट

आईकनको थ्रीडी प्रिन्टरमा घर प्रिन्ट गर्नका लागि कंक्रीट पाउडर, पानी, बालुवा तथा अन्य आवश्यक सामग्रीहरु प्रयोग गरिन्छ। यी सामग्रीहरुको अर्धठोस मिश्रणलाई पाइपमार्फत् ट्युब आकारको तह बनाउँदै त्यसैबाट भित्ताहरु र अन्त्यमा सिँगै घर निर्माण गरिन्छ।

हाल उपलब्ध डिजाइनका हिसाबले यी घरहरु एकतले हुने र त्यसमा ३ देखि ४ ओटा बेडरुम रहने गर्छन्। कम्पनीका अनुसार यसप्रकारको एउटा घर प्रिन्ट गर्न भल्कन प्रिन्टरलाई लगभग ३ हप्ता लाग्ने बताइएको छ। घरको मुख्य भित्री भित्ताहरु यो प्रिन्टरले प्रिन्ट गर्ने भएता पनि घरको जग तथा टिन वा अन्य धातुबाट बनेका छाना भने परम्परागत तरिकाले मानिसहरुले नै बनाउनु/लगाउनु पर्ने समाचारमा जनाइएको छ।

एकपटक प्रिन्ट गरेपछि ती भित्ताहरु कर्डुरोय (जनजिब्रोमा कटराइजको रुपमा चिनिने धर्के कपडा) को एउटा विशाल फैलावटका रुपमा देखिन्छन् भने तिनीहरुलाई कुनै पनि प्रकारको मौसमको सामना गर्न सक्नेगरी दिगो हिसाबले बनाइएको हुन्छ।

आईकनको प्रेस विज्ञप्तिअनुसार हाल उपलब्ध अमेरिकी वा अष्ट्रेलियामा हुने वस्तुभाउको ब्रिडिङ फार्म अर्थात् उत्पादन केन्द्र जस्तो स्वरुप र डिजाइन बिग बिजार्क इङ्गेल्स ग्रुप नामक आर्किटेक्चर संस्थाबाट प्राप्त भएको हो।

एक जना कर्मचारी र एउटा रोबोट प्रिन्टरमार्फत् काम

यी घरहरुको निर्माण प्रक्रिया पनि यो परियोजनाका क्रममा सुधारिँदै र थप चुस्त दुरुस्त हुँदै गइरहेको दावी गरिएको छ। आइकनका वरिष्ठ परियोजना व्यवस्थापक कोनर जेन्किन्सले रोयटर्सलाई बताएको तथ्यहरु उल्लेख गर्दै इन्ग्याजेटले पहिले ती घरहरु ५ जना कर्मचारीबाट प्रिन्ट हुँदै आएकामा हाल भने एक जना कर्मचारी र एउटा रोबोट प्रिन्टरमार्फत् हुँदै आएको उल्लेख गरेको छ।

कम्पनीका अनुसार यसरी प्रिन्ट गरिएको घरको भित्ताको मोटाईले वाइफाइको सिग्नल भने छेक्ने गर्दछ। यसैकारण त्यहाँ बस्न थालिसकेका घरधनीहरुले आफ्नै घरमा व्यक्तिगत वाइफाइ राउटर राख्नुको साटो ब्रोडकास्ट सिग्नल फाल्ने मेश इन्टरनेट राउटर प्रयोग गर्नुपरेको छ।

अब चन्द्रमामा पनि थ्रीडी घर बन्ने सम्भावना

आईकनले उसको भयंकर थ्रीडी प्रिन्टर प्रयोग गरेर पृथ्वीमा मात्र नभई अब चन्द्रमामा पनि संरचनाहरु निर्माण गर्नसक्ने सम्भावना बढेको छ। नासाले आर्टेमिस मून एक्स्प्लोरेशन प्रोग्राम अन्तर्गत आगामी सन् २०२५ को सेप्टेम्बरमा पहिलोपटमा चन्द्रमामा यात्रु पठाउने योजनामा रहेकोले उसले ती यात्रुहरुलाई बस्नका लागि यस प्रकारको वासस्थान बनाउने प्रविधिमा चासो दिएको बुझिएको छ।

प्रकाशित: २६ श्रावण २०८१, शनिबार

तपाइको प्रतिक्रिया