
काठमाडौं ।
चिनियाँ अटोमोटिभ जायन्ट बीवाईडीले पोल्याण्डमा आफ्नो पहिलो डिलरशिपको भव्य उद्घाटनसँगै युरोपेली बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाएको छ।
राजधानी वार्सामा अवस्थित नयाँ शोरूमले युरोपेली महाद्वीपमा आफ्नो पहुँच विस्तार गर्न बीवाईडीको रणनीतिमा महत्त्वपूर्ण कोशेढुंगाको काम गरेको उल्लेख गरिएको छ।
पोजनान, भ्रोत्स्वाभ, क्राकुफ र स्चेचिन शहरहरूमा भविष्यमा डिलर खोलिने
डिलरशिपले लोकप्रिय सिल मोडेल सहित बीवाईडीका विभिन्न प्रकारका इलेक्ट्रिक भेहिकलहरु उपलब्ध गराउनेछ। यसबाहेक कम्पनीले पोजनान, भ्रोटस्वाभ, क्राकुफ र स्चेचिन जस्ता प्रमुख शहरहरूमा भविष्यमा थप डिलरशिप बढाएर पोल्याण्डमा आफ्नो उपस्थिति अझ बलियो बनाउने महत्वाकांक्षी योजनाहरू राखेको उल्लेख गरिएको छ।
बीवाईडी पोल्याण्डको बजारमा प्रवेश गर्नुलाई यसको व्यापक युरोपेली विस्तार रणनीतिको एउटा हिस्साका रुपमा मानिएको छ। कम्पनीले युरोपेली उपभोक्ताहरूलाई ईभी गाडीहरु दिगो रुपमा प्रस्तुत गराउने र युरोपेली क्षेत्रको हरियाली भविष्य (ग्रीन फ्युचर अर्थात् कार्बन उत्सर्जनबाट बिस्तारै नवीकरणीय ऊर्जाको प्रयोग गरेर वातावरण सफा राख्ने प्रयास) तर्फको यात्रामा योगदान पुर्याउने लक्ष्य राखेको उल्लेख छ।
विद्युतीय सवारीसाधनमा केन्द्रित भएर बीवाईडीले युरोपेली अटोमोटिभ बजारमा एक प्रमुख खेलाडीको रूपमा आफूलाई उभ्याइरहेको थप उल्लेख छ।
वार्सा डिलरशिपको उद्घाटनले पोल्याण्डको बजारप्रति बीवाईडीको प्रतिबद्धता र यस क्षेत्रमा विद्युतीय सवारी साधनहरूको बढ्दो मागप्रतिको विश्वासलाई जनाउने समाचार संस्था गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २५ श्रावण २०८१, शुक्रबार