
काठमाडौं ।
इलन मस्कको विद्तीय कार निर्माण गर्ने कम्पनी टेस्लाले सफ्टवेयर ठिक गर्नका लागि १६ लाखभन्दा बढी गाडी फिर्ता बोलाउने भएको छ। चीनको बजार नियामकका अनुसार कारको सामान राख्ने ठाउँ अर्थात् ट्रंक राम्ररी लक नभएको खण्डमा चालकलाई सचेत गराउने उद्देश्यले सफ्टवेयर अपडेटका लागि फिर्ता बोलाउन लगाइएको हो।
मंगलबार ढिलोगरी आएको टेस्लाको यो घोषणामा राम्ररी काम नगर्ने ट्रंकको चुकुलहरु कम्पनीले निशुल्क मर्मत गरिदिने बताइएको छ। यो रिकल अर्थात् फिर्ता बोलाइनुले आयात गरिएका मोडल एस र मोडल एक्स तथा २०२० अक्टोबर देखि जुलाई २०२४ चीनमै बनेका मोडल ३ र मोडल वाई कारहरु प्रभावित हुने भएका एपीन्युजले उल्लेख गरेको छ।
उक्त रिकलको सूचनामा राम्ररी लक नभएको ट्रंकको ढक्कन गाडी गुडिरहेको बेला खुल्न सक्ने र यसले चालकले देख्ने दृश्यमा प्रभाव पार्ने उल्लेख छ। तर सूचनामा यसअघि टेस्लाका कुनै पनि गाडीमा यस प्रकारको समस्या आएकोबारे भने केही उल्लेख गरेको छैन।
अमेरिकाको विद्युतीय सवारी निर्माता यो कम्पनीले रिमोट सफ्टवेयर अपग्रेडमार्फत् उक्त समस्या समाधान गर्ने बजार नियामक संस्थाले बताएको छ।
चीन टेस्लाको प्रमुख बजार तथा उत्पादन भूमि हुनुका साथै स्थानीय ईभी निर्माता कम्पनीहरु पनि टेस्लाका लागि बढ्दो प्रतिस्पर्धाका कारक बनिरहेका छन्। कम्पनीले हालै आफ्नो दोस्रो त्रैमासको खस्किँदो खुद आम्दानी सार्वजनिक गरेको थियो जसमा मूल्यमा गिरावट तथा कम ब्याज आउने खालको फाइनान्स सुविधा उपलब्ध गराउँदा पनि ईभीको बिक्री उल्लेख्य घटेको थियो।
प्रकाशित: २३ श्रावण २०८१, बुधबार