पासाङ ल्हामु शेर्पाको नामबाट चन्द्रमामा रहेको क्रेटरको नामाकरण

Technology Khabar २२ श्रावण २०८१, मंगलवार

काठमाडौं ।

नेपाली पर्वतारोही पासाङ ल्हामु शेर्पाको नाममा चन्द्रमामा रहेको एउटा क्रेटरको नामाकरण गरिने भएको छ। हालै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले शेर्पाको नाम चन्द्रमामा रहेका थुप्रैमध्ये एउटा क्रेटर (उल्कापिण्ड बजारिँदा बनेको खाडल जुन ज्वालामुखीको मुखजस्तै आकारको देखिन्छ ) मध्ये एउटाको नामाकरणका लागि प्रयोग गर्ने भएको हो ।

नासाले विश्वका चर्चित व्यक्तित्वहरुका नाममा विभिन्न ग्रहमा रहेका ठाउँहरुको नामाकरण गर्ने गर्दछ। यसैक्रममा यसपटक चन्द्रमामा रहेको धेरैमध्ये एउटाको नाम पासाङ ल्हामु शेर्पाको बीचको नाम ‘ल्हामु’ बाट राख्ने भएको हो।

प्लानेटरी सिस्टम नोमन्क्लेचर अर्थात् ग्रह प्रणाली नामाकरणका लागि आईएयू अर्थात् (अन्तरराष्ट्रिय खगोल युनियन) को कार्यदलले चन्द्रमामा भएको एउटा विशेषताको नाम ल्हामु राख्न अनुमति दिएको हो। यो अनुमति गत जुलाई २९ तारिखका दिन दिइएको प्लानेटरीनेम्स नामक वेबसाइटले उल्लेख गरेको छ।

यो वेबसाइट अमेरिकी सरकार अन्तर्गतको यूएसजीएस अर्थात् युनाइटेड नेशन्स जिओग्राफिकल सर्भे नामक संस्थासँग सम्बद्ध रहेको छ। नासाले चन्द्रमा मात्र नभई अन्य ग्रह तथा आकाशीय पिण्डहरुमा रहेका विभिन्न विशेषताहरुको नाम यसैगरी विभिन्न देशका चर्चित व्यक्तित्वहरुका नाममा राख्ने गर्दछ । नासाले शेर्पाको नामबाट नामाकरण गर्न लागेको उक्त विशेषताको परिचय नम्बर १६३१७ रहेको छ भने शेर्पालाई ‘सगरमाथा चढ्ने नेपालकै पहिलो शेर्पा महिला, १९६१-१९९३’ भनेर व्याख्या गरिएको छ।

प्रकाशित: २२ श्रावण २०८१, मंगलवार

तपाइको प्रतिक्रिया