Technology Khabar २२ श्रावण २०८१, मंगलवार
काठमाडौं ।
ओपनएआईले सर्चजीपीटी सार्वजनिक गरेको एक हप्तापछि द न्यूयोर्क टाइम्स लगायतका प्रमुख समाचार साइटहरुले यसलाई बन्द गरिदिएका छन्।
न्यूयोर्क टाइम्स र अन्य १३ ओटा समाचार साइटले ओपन एआईको सर्चबट ब्लक गरेका हुन्। यो एक प्रकारको वेब क्रलर हो जसले जानकारीहरुलाई इङ्गित गर्दछ र सर्चजीपीटीका प्रयोगकर्ताले खोज्दा यसैका आधारमा सान्दर्भिक जानकारी दिने गर्छ।
अन्तरराष्ट्रिय समाचार संस्था बिजनेस इन्साइडरका अनुसार ओरिजिनालिटी डट एआईले यसलाई ट्र्याक गरेकोमा प्रमुख १ हजार वेबसाइट प्रकाशकहरुमध्ये १४ ले ओपनएआईको सर्चबटलाई ब्लक गरेको पाएको हो। यसलाई ब्लक गर्ने अन्य प्रकाशकहरुमा वायर्ड, द न्यू योर्कर, भोग, भ्यानिटी फेयर तथा जीक्यूलगायत रहेका छन्।
ओरिजिनालिटी डट एआईका सीईओ जन गिल्हामले यसलाई चिन्ताको विषय भएको बताउँदै किन केही प्रकाशकहरुले यसलाई ब्लक गरे भन्ने आफूले बुझ्न नसकेको बताए। प्रकाशकहरुलाई चाहिने ट्राफिन नै हो भने यसलाई हटाउनुपर्ने कारण नदेखिएको उनको भनाई छ।
गत हप्ता सर्चजीपीटी सार्वजनिक गर्ने क्रममा ओपनएआईले यो टूलले जीपीटी-५ ले जस्तो आफ्नो एआई मोडललाई प्रशिक्षित गर्न आवश्यक डाटा संकलनका लागि वेबसाइट क्रल नगर्ने बताएको थियो। यसबाहेक ओपनएआईले वेबसाइट धनीहरुलाई आफ्ना साइट सर्च रिजल्टमा देखियोस् भन्ने पक्का गर्नका लागि यो नयाँ बटलाई स्थान दिन पनि सुझाएका थिए।
समाचारमा उल्लेख भए अनुसार प्रत्येक वेबसाइटमा क्रलरहरुको पहुँच नभएमा ओपनएआईको सर्चजीपीटी गुगलको सर्च इञ्जिनको तुलनामा कम पूर्ण हुने खतरा रहन्छ।
प्रकाशित: २२ श्रावण २०८१, मंगलवार