नासा प्लसमा ध्यान केन्द्रित गर्न केबलमा उपलब्ध नासा टिभी बन्द गरिने

  • Technology Khabar | १८ श्रावण २०८१, शुक्रबार
नासा प्लसमा ध्यान केन्द्रित गर्न केबलमा उपलब्ध नासा टिभी बन्द गरिने

काठमाडौं ।

अमेरिकी स्पेस एजेन्सी नासाले सञ्चालन गर्दै आएको नासा टिभी अगस्तमा बन्द हुँदैछ। अन्तरिक्ष एजेन्सीले डिश, डाइरेकटिभी र यस्तै प्रकारका सेवाहरूका साथै स्थानीय टेलिभिजन प्रदायकहरूमा उपलब्ध हुँदै आएको यसको केबल च्यानलबाट बिदा लिने भएको हो ।

अब एजेन्सीले आफ्नो सबै ध्यान नासा+ मा केन्द्रित गर्नेछ जुन यसको अन–डिमान्ड स्ट्रिमिङ सेवा भएको हो । यसमार्फत् एजेन्सीले आफ्ना सबै वृत्तचित्रहरू र प्रत्यक्ष घटनालाई कभरेज गर्दै घर–घरमा सेवा प्रदान गर्ने बताइएको छ।

अन्तरराष्ट्रिय समाचार संस्था इन्ग्याजेटका अनुसार गत वर्ष नोभेम्बरमा सार्वजनिक गरेदेखि एजेन्सीको परम्परागत केबल च्यानलले भन्दा नासा+ ले चार गुणा बढी दर्शक प्राप्त गरेको छ।

“ब्रह्माण्डमा जहाँ जानकारी उपभोग गर्ने तरिका द्रुत रूपमा परिवर्तन हुँदैछ, नासा+ ले हामीलाई हाम्रो वर्तमान पुस्ताका अन्वेषकहरूः आर्टेमिस जेनेरेसनसँग कनेक्ट (जोड्न) र इन्सपायर (प्रेरित) गर्न मद्दत गरिरहेको छ,” नासाको सञ्चार कार्यालयका मार्क एट्किन्डले बताएका छन्।

प्राप्त जानकारी अनुसार एजेन्सीको स्ट्रिमिङ सेवा पूर्ण रूपमा निःशुल्क हुनेछ र यसमा विज्ञापनहरू पनि हुनेछैनन्। दर्शकहरूले मोबाइल डिभाइसहरूमा आईओएस र एन्ड्रोइडको लागि आधिकारिक नासा एप मार्फत पहुँच गर्न सक्नेछन्।

साथै ठूलो स्क्रिनमा हेर्न चाहनेहरुका लागि भने तिनीहरूले रोकु, एप्पल टिभी वा फायर टिभी मार्फत एजेन्सीको एप प्राप्त गर्न सक्नेछन्। यसैगरी नासाको कभरेज र शोहरू कम्प्युटरमा हेर्नको लागि भने प्रयोगकर्ताहरूले आफ्नो ब्राउजरमा आधिकारिक नासा+ वेबसाइट भ्रमण गर्न सक्ने थप उल्लेख गरिएको छ।

केबल च्यानल बन्द हुने घोषणाको अतिरिक्त नासाले नयाँ कार्यक्रमहरू, एपिसोडहरू र प्रत्यक्ष घटना कभरेजको लागि आफ्नो आगामी लाइनअपको पनि खुलासा गरेको छ।

आगामी वृत्तचित्रहरू मध्ये ‘प्लानेटरी डिफेन्डर्स’ शीर्षक रहेको वृत्तचित्रले क्षुद्रग्रह पत्ता लगाउने र ग्रहहरूको रक्षामा मानवताको प्रयासलाई सम्बोधन गर्नेछ भने ‘आवर एलियन अर्थ’ ले ब्रह्माण्डमा बाह्य जीवनको खोजमा मद्दत गर्नको लागि विश्वभरको सबैभन्दा चरम वातावरणमा नासाका वैज्ञानिकहरूको क्षेत्रीय कार्य देखाउने इनग्याजेटले उल्लेख गरेको छ।

प्रकाशित: १८ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार