राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन

  • Technology Khabar | १६ श्रावण २०८१, बुधबार
राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्दै उनले राष्ट्रिय परिचयपत्र वितरण कार्य सुस्त भएको बताए।

“राष्ट्रिय परिचयपत्र बनाउन एक करोड ५१ लाखको विवरण सङ्कलन भइसकेको छ। कार्ड छपाइ ४३ लाख भइसकेको छ। ७६ लाख कार्ड छाप्न बाँकी छ”, उनले भने, “वितरणको सङ्ख्या एकदम कम भयो। आठ लाख ४७ हजार मात्र हामीले वितरण गरौँ। वितरणको पाटोलाई तीव्रता दिनुहोला।”

गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र सरकारको सुशासनसँग सम्बन्धित रहेको बताए। उनले भने, “नागरिकलाई राज्यले प्रदान गर्ने सुविधाको मुख्य माध्यम राष्ट्रिय परिचयपत्र हुने भएकाले यो सुशासनको महत्त्वपूर्ण पाटो हो। यो राज्यको भविष्यसँग जोडिएको छ। यसमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रशंसनीय काम गरेको छ।”

ज्येष्ठ नागरिकलाई घरघर गएर परिचयपत्र उपलब्ध गराउनेगरी अगाडि बढ्न गृहमन्त्री लेखकको निर्देशन थियो । “सामाजिक सुरक्षाभत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने कुरा व्यावहारिक थिएन। सामाजिक सुरक्षा भत्ताका लागि त्यो अनिवार्य नगर्ने निर्णय उचित हो। तर, ज्येष्ठ नागरिकबाहेकका हकमा अनिवार्य गरौँ । ज्येष्ठ नागरिकलाई घरघर गएर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने नीति बनाऔँ”, उनले भने।

राष्ट्रिय परिचयपत्र बनाउने विषयलाई तीव्रता दिन पालिकाले वित्तीय समानीकरण अनुदानसँग जोड्न सकिने गृहमन्त्री लेखकको भनाइ थियो। “अनुदानसँग जोड्दा राष्ट्रिय परिचयपत्र लिने मान्छेभन्दा पनि दिने मान्छेले पहल लिन्छ। वडाध्यक्ष नै राष्ट्रिय परिचयपत्र लिदिनुपर्यो भनेर घरघर जान थाल्नुहुन्छ। त्यसपछि राष्ट्रिय परिचयपत्र वितरण अभियान सफल हुन्छ”, उनले भने।

प्रकाशित: १६ श्रावण २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार