टेक्ससको फेसियल रिकग्निशन मुद्दा सुल्झाउन मेटाले १ अर्ब डलरभन्दा बढी तिर्ने

Technology Khabar १६ श्रावण २०८१, बुधबार

काठमाडौं ।

फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मलेले टेक्सस सरकारलाई १ अर्ब ४० करोड डलर बुझाउने भएको छ।

टेक्सस सरकारले केही समयअघि उक्त राज्यका लाखौं मानिसहरुको बायोमेट्रिक लगायतका डाटा सहमतिबिना नै फेसियल रिकग्निशन प्रविधिमार्फत् अनधिकृत रुपमा संकलन गरेको भन्दै मेटाविरुद्ध मुद्दा दायर गरेको थियो।

सोही मुद्दा सुल्झाउने क्रममा मेटाले उक्त रकम तिर्न तयार भएको अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

टेक्ससका वकिलहरुका अनुसार गत मंगलबार सार्वजनिक भएको उक्त मिलापत्रको शर्तहरुले यो अमेरिकाको कुनै पनि एउटा राज्यले गरेको सबैभन्दा ठूलो मिलापत्र भएको देखाएको छ। ती वकिलहरुले केलर पोस्ट्म्यान नामक व्यक्तिले हालेको उजुरी पनि संलग्न गरेका थिए ।

यस सम्बन्धी मामिलामा चासो दिइरहेका ल फर्महरुका अनुसार उक्त मुद्दा गत २०२२ मा दर्ता गरिएको र टेक्सस राज्यको २००९ मा आएको बायोमेट्रिक गोपनीयता कानून प्राइभेसी ल अन्तर्गतको हालसम्मकै ठूलो मुद्दा हो । उक्त कानुनमा उल्लेख गरिएका प्रावधानहरुमा एउटा कानुन उल्लङ्घनको २५ हजार डलरसम्म क्षतिपूर्ति गराउन सक्ने रहेको बुझिएको छ।

टेक्सस राज्यले फेसबुकलाई प्रयोगकर्ताले ट्याग सजेशन फिचर प्रयोग गर्दै निशुल्क रुपमा अपलोड गरेका फोटो तथा भिडियोबाट करोडौं पटक उनीहरुको बायोमेट्रिक जानकारी संकलन गरेको आरोप लगाएको छ।

मेटाका एक प्रवक्ताले उक्त विवाद सुल्झाउन पाएकोमा कम्पनी खुसी रहेको बताउँदै भविष्यमा डाटा सेन्टरलगायतका व्यावसायिक लगानीको वातावरणलाई प्रगाढ बनाउन अवसरको खोजीमा रहिरहने जानकारी दिए। तर कम्पनीले कुनै पनि गलत काम नगरेको भने दोहोर्याएको छ।

प्रकाशित: १६ श्रावण २०८१, बुधबार

तपाइको प्रतिक्रिया