Technology Khabar १६ श्रावण २०८१, बुधबार
काठमाडौं ।
रुसले यो वर्षको अन्त्यसम्ममा आफ्नो पहिलो क्रिप्टोमार्फत् गरिने अन्तरराष्ट्रिय भुक्तानी सम्पन्न गर्ने भएको छ।
रुसको केन्द्रीय बैंकका गभर्नर एल्भिरा नाबिउलिनाले मंगलबार बताए अनुसार यसो गर्नुको मुख्य कारण पश्चिमी देशहरुले रुसमाथि लगाएको प्रतिबन्धका कारण उत्पन्न असहजतालाई चिर्नु रहेको छ ।
रुसले पश्चिमी मुलुकको दबाबका कारण स्थानीय बैंकहरु अझ सतर्क हुन थालेकाले मुख्य विदेशी व्यावसायिक समकक्षीहरुलाई गर्नुपर्ने अन्तरराष्ट्रिय भुक्तानीमा विशेष ढिलाई सामना गर्दै आएको छ।
संसदको तल्लो सदनले रुसी कम्पनीहरुलाई क्रिप्टोकरेन्सीमार्फत् अन्तरराष्ट्रिय भुक्तानी गर्न इजाजत दिने अपेक्षा गरिएको अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
यो नयाँ कानून यसै वर्षको शरद ऋतुबाट कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ।
‘हामी यसअघिदेखि नै यसको अनुभव कस्तो हुनेछ भन्नेबारे मन्त्रालय, एजेन्सीहरु तथा व्यावसायिक संस्थाहरुसँग छलफलमा जुटिरहेका छौं र यस प्रकारको पहिलो भुक्तानी यो वर्षको अन्त्यसम्ममा भइसक्नेछ, साथै नियामकहरु पनि लचकता देखाउन तयार छन्’, नाबिउलिनाले भनिन्।
अहिलेसम्म क्रिप्टोमार्फत् भुक्तानी रुसमा गैरकानूनी रहेकाले यो नयाँ कानूनले त्यसलाई परिवर्तन गर्नेतर्फ काम गर्नेछ। यसबीच केन्द्रीय बैंकले भुक्तानी विलम्ब रुसी अर्थतन्त्रका लागि मुख्य चुनौती रहेको बताएको छ।
‘अर्को प्रतिबन्धको खतरा बढेको छ । यसो भएमा सामान आयातको भुक्तानीमा समस्या आउँछ जसका कारण धेरै सामानहरुको आयात हुन सक्दैन’, नाबिउलिनाले भनिन्।
उनले व्यावसायिक प्रतिष्ठानहरु यसको समाधान खोज्न लागि परिरहेका भएता पनि यो समस्याका कारण आपूर्ति श्रृङ्खला लम्बिने र मूल्य बढ्नेतर्फ धकेलेको पनि औंल्याइन् ।
प्रकाशित: १६ श्रावण २०८१, बुधबार