Technology Khabar १६ श्रावण २०८१, बुधबार
काठमाडौं ।
एप्पलको सुपथ मूल्यको आईफोन एसई लाइनअपमा सन् २०२५ मा अर्को पुनरावृत्ति हुनसक्ने देखिएको छ। साथै एप्पलको आगामी बजेट–अनुकूल आईफोन एसईको बारेमा धेरै लीकहरू पनि आइरहेका छन्।
यसै क्रममा अब द इलेकको नयाँ रिपोर्टले एलजी डिस्प्ले आगामी आईफोन एसई लाइनको लागि ओएलईडी स्क्रिनको दोस्रो आपूर्तिकर्ताको रूपमा सामेल हुन सक्ने सुझाव दिएको छ।
आईफोन एसई ४ को डिस्प्लेको लागि पहिलो आपूर्तिकर्ता भनिएको बीओईले कम प्यानल लागतका कारण सामसङलाई बिडमा उछिनेको बताइएको छ।
यसअघि एप्पलले बीओईसँग अन्य आईफोन मोडेलहरूमा काम गरिसकेको हुनाले यो साझेदारी नयाँ नभएको जनाइएको छ।
यद्यपि, एसई ४ को लागि बीओईको शेयर कुनै पनि आईफोनको लागि भएको सबैभन्दा ठूलो हुने अपेक्षा गरिएको छ। द इलेकले रिपोर्ट गरे अनुसार यसले ६० देखि ७० प्रतिशत स्क्रिनहरू प्रदान गर्नेछ जुन प्रति वर्ष लगभग २० मिलियन एकाइहरू हुने जनाइएको छ।
त्यसैगरी आईफोन एसई ४ का लागि बाँकी ओएलईडी प्यानलहरू दोस्रो आपूर्तिकर्ताबाट आउने अपेक्षा गरिएको छ र जुन एलजी डिस्प्ले हुने रुमर रहेको छ।
द इलेकका अनुसार, एप्पलले डिस्प्ले सुविधाहरू डाउनग्रेड गरेर एसई ४ को लागि आईफोन १३ को डिस्प्ले प्यानल प्रयोग गर्ने योजना बनाएको उल्लेख छ।
एलजी डिस्प्लेले आईफोन १३ को लागि प्यानलहरू आपूर्ति गरेको उल्लेख छ। साथै यो प्यानल पुनः प्रयोग गर्नाले निर्माताका लागि उत्पादन सरल हुने र एप्पलको लागि लागतहरू कम पर्ने थप उल्लेख गरिएको छ।
यस महिनाको सुरुवातमा एउटा रिपोर्टले आईफोन एसई ४ मा ६.०६–इन्च डिस्प्ले फिचर हुने खुलासा गरेको थियो। यद्यपि आईफोन १३ मा भने ६.१–इन्च स्क्रिन रहेको छ।
त्यसैले यदि द इलेकको रिपोर्ट सत्य हो भने एलजी डिस्प्लेले एसई ४ मा फिट गर्नको लागि प्यानलमा केही समायोजन गर्नुपर्ने हुन जान्छ।
यसबाहेक अर्को डिस्प्ले निर्माता टियान्माले पनि आईफोन एसई ४ को लागि डिस्प्ले आपूर्ति गर्न कथित रूपमा रुचि प्रकट गरेको छ।
यद्यपि तिनीहरूको टेक्नोलोजी बीओईको तुलनामा कम उन्नत भएको विश्वास गरिएको हुनाले तिनीहरू यस चरणमा आपूर्ति श्रृंखलामा समावेश हुने सम्भावना नभएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १६ श्रावण २०८१, बुधबार