आफ्ना एआई मोडललाई प्रशिक्षित गर्न एप्पलले गुगलको चिप प्रयोग गरेको खुलासा

Technology Khabar १६ श्रावण २०८१, बुधबार

काठमाडौं ।

एप्पलले आफ्ना दुई एआई मोडलको सफ्टवेयर संरचनाका लागि गुगलद्वारा विकास गरिएको चिपको प्रयोग गरेको खुलेको छ।

एप्पलले आफ्नो आगामी एआई टूल र फिचरका लागि बजारमा अग्रणी चिप निर्माता एनभिडियालनाई छोडेर गुगलको चिप प्रयोग गरेको खुल्न आएको अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

यो जानकारी एप्पलले हालै प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको बताइएको छ। एनभिडियाले एआईका लागि सबैद्वारा रुचाइने चिपहरु उत्पादन गर्दै आएकामा एप्पलले आफ्नो एआई फिचरका लागि गुगलले विकास गरेको चिपमा भर पर्नुलाई केही आश्चर्यका रुपमा हेरिएको छ।

यस प्रकारको चिप निर्माताहरुमा गुगल अमेजन र एनभिडिया रहेकामा ८० प्रतिशतभन्दा बढी बजार एनभिडियाले ओगटेको छ।

उक्त अनुसन्धान प्रतिवेदनमा एप्पलले स्पष्ट रुपमा एनभिडियाको चिप प्रयोग नगरेको भनेर नखुलाए पनि उसका एआई टूल तथा फिचरहरुको सफ्टवेयर र हार्डवेयरमा कतै पनि एनभिडिया हार्डवेयरको नाम उल्लेख गरिएको छैन।

एप्पलले आफ्ना एआई मोडलहरुलाई प्रशिक्षित गर्नका लागि गुगलको टेन्सर प्रोसेसिङ युनिट टीपीयू जस्तैको फिचर भएका चिप प्रयोग गरेको बताएको छ।

एप्पलले उक्त प्रशिक्षणका लागि २ हजार ४८ ओटा टीपीयूभी५ चिप प्रयोग गरेको बताइएको छ। यसैगरी सर्भर एआई मोडलका लागि भने उसले ८ हजार १९२ ओटा टीपीयूभी४ चिप प्रयोग गरेको प्रतिवेदनलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।

प्रकाशित: १६ श्रावण २०८१, बुधबार

तपाइको प्रतिक्रिया