
काठमाडौं ।
नेपाल इन्जिनियरिङ कलेज (नेक) को प्राचार्यमा एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन् ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयद्वारा गठित कलेज सञ्चालन समितिको २९ औं बैठकले कार्यवाहक प्राचार्यको भूमिकामा रहेका भण्डारीलाई प्राचार्यमा नियुक्त गरेको हो ।
कार्यवाहक प्राचार्य हुनुअघि भण्डारीले कलेजको सह–प्राचार्य र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विभागको प्रमुख भएर जिम्मेवारी सम्हालिसकेका बताइएको छ ।
सन् २००१ देखि नै कलेजमा आबद्ध भण्डारीले पुल्चोक क्याम्पसबाट इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा मास्टर्स गरेका छन् ।
इन्जिनियरिङ विधालाई सर्वप्रिय बनाउन र कलेजको शैक्षिक, प्रशासनिक क्षमता अभिवृद्धि गर्न गराउन १० महिनादेखि कुशलतापूर्वक कार्यवाहक प्राचार्यको भूमिका निर्वाह गरेका भण्डारीलाई नै प्राचार्य नियुक्त गरिएको नेक सञ्चालक समितिका अध्यक्ष जीवन खत्रीले बताए ।
‘कलेजको शैक्षिक क्रियाकलाप र गरिमालाई खस्किन नदिन, कलेजका समस्याहरुलाई समाधान गर्न उहाँ सक्षम हुनुहुन्छ भनेर नै हामीले सबै प्रकृया पुरा गरेर प्राचार्यमा नियुक्त गरेका छौं । यो पदमा रहेर उहाँले सबै पक्षलाई समेटेर कलेजको विकास, विद्यार्थीको हित र शैक्षिक कृयाकलाप गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं’, नवनियुक्त प्राचार्य भण्डारीलाई नियुक्ति पत्र दिँदै अध्यक्ष खत्रीले कलेजको सर्वाङ्गिण विकासका लागि जस्तोसुकै सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताए ।
पदभार ग्रहण गर्दै नवनियुक्त प्राचार्य भण्डारीले कलेजको शैक्षिक स्तर सुधार्न आफू प्रतिबद्ध भएर लाग्ने बताए । उनले कलेजमा समय सापेक्ष नयाँ कार्यक्रम थप गर्ने, प्रशासनिक, भौतिक र आर्थिक समस्याहरु सुधार्ने, शिक्षक कर्मचारीको वृत्ति विकासमा आफू कलेजका सबै पक्षसँग सहकार्य र छलफल गरेर अगाडी बढ्ने बताए ।
प्रकाशित: १५ श्रावण २०८१, मंगलवार