चाँगुनारायण नगरपालिका बन्यो पूर्ण ड्रोन ईमेजमा आधारित मेट्रिक घर नम्बर लागू गर्ने पहिलो स्थानीय तह

Technology Khabar १५ श्रावण २०८१, मंगलवार

काठमाडौं ।

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाले सोमबार एक औपचारिक कार्यक्रममा मार्फत पूर्ण ड्रोन ईमेजमा आधारित नगरपालिकाभर मेट्रिक घर नम्बर लागु गरेको छ।

नेपालमा मेट्रिक प्रणालीको घर नम्बरिङ्ग विभिन्न समयमा विभिन्न पालिका तथा स्थानीय तहहरुले कार्यान्वयन गरेतापनि पूर्ण ड्रोन ईमेजमा आधारित नगरपालिकाभरको मेट्रिक घर नम्बर लागु गर्ने चाँगुनारायण नगरपालिका पहिलो पालिका भएको दाबी गरेको छ।

अहिले पनि नेपालको विभिन्न पालिकाहरुलाई ड्रोन ईमेजमा आधारित मेट्रिक घर नम्बर लागु गर्न सुरुवात गरेता पनि सम्पन्न गरिसकेका छैनन।

सोमबार चाँगुनारायण नगरपालिका वडा नं ७ मा रहेको सुरक्षित आश्रय स्थलको हलमा एक औपचारिक कार्यक्रम आयोजना गरी नगर प्रमुख जीवन खत्रीले उद्घाटन गरे। नगरपालिकाको वडा नं ८ स्थित रातोपाटी चोकको १४ ओटा घरहरुमा नगर प्रमुख सहितको जनप्रतिनिधिहरुको टोलीले घर नम्बर प्लेट टाँसेर कार्यक्रम शुभारम्भ गरेको जनाएको छ।

२०७८ सालमा तात्कालिन जनप्रतिनिधिहरुबाट यस परियोजनाको शुभारम्भ भएतापनि हाल सम्म यस प्रणाली कार्यान्वयन हुन सकेको थिएन।

कार्यक्रम मार्फत नगरप्रमुखबाट नगरबासीमा मेट्रिक घर नम्बर तथा ठेगाना प्रणालीको कार्यान्वयनबारे भिडियो सन्देश समेत जारी गरिएको छ। कार्यक्रममा नगर प्रवक्ता एवं वडा नं ८ का वडा अध्यक्ष जनक खत्री, नगरपालिकाको पूर्व सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपाने, यस प्रणालीको दक्ष परामर्शदाताहरु नक्सा प्रालि एवं गल्ली म्याप्सका प्रतिनिधिहरुबाट प्रस्तुतीकरुण एवं धारणा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख जीवन खत्रीले यस आर्थिक वर्षमा नै व्यवस्थित कार्य योजना बनाई सबै नगरबासीको घर घरमा घर नम्बर प्लेट पुर्याउनको लागि बजेट तथा कार्यक्रम नै निर्माण गरि सकिएको जानकारी दिए।

त्यसैगरि प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमागाईले नगरपालिका २०७८ सम्म बनेका घरहरु यस प्रणाली मार्फत घर नम्बर उत्पादित भईसकेको र सो समय पश्चात बनेका घरहरु समेत यसै मेट्रिक एड्रेसिङ्ग म्यानेजमेन्ट सिस्टम (Metric Addressing Management System) मार्फत यस प्रणालीमा प्रविष्ट गरिने बताए।

चाँगुनारायण नगरबासीले गुगल प्लेट स्टोर तथा एप स्टोरबाट गल्ली म्याप्स र चाँगुनारायण नगरपालिकाको ओपन डाटा पोर्टल (Open Data Portal) मार्फत आफ्नो घरमा ३ सेकेण्ड प्रेस गरि घर नम्बर पत्ता लगाउन सक्ने छन्।

यस प्रणालीमा आउनसक्ने समस्या एवं गुनासो व्यवस्थापनले परामर्शदाता नक्सा प्रालिले यस प्रणालीमा छुट्टै गुनासो व्यवस्थापन फिचरहरु थप्न लागिएको जानकारी दिएको जनाएको छ।

यस परियोजनाको प्राविधिक सहकार्य एवं सहयोगकर्ता नक्सा प्रा.लि, पिसनेपाल डट कम, गल्ली म्याप्स र अन्य सहयोग निकायहरु काठमाडौँ विश्वविद्यालय, एयर लिफ्ट टेक्नोलोजी, पाथवे टेक्नोलोजी, नेपाल फ्लाईङ्ग ल्याब्स एवं जियोभेसन नेपाल रहेको पूर्व सूचना प्रविधि अधिकृत न्यौपानेले जानकारी दिएका छन्।

कार्यक्रमका बोल्दै न्यौपानेले मेट्रिक घर नम्बर तथा ठेगाना प्रणाली मार्फत नगरबासीको साथसाथै स्थानीय सरकारहरुले गर्ने कार्यहरुमा पनि विभिन्न सहजता एवं छिटो हुने दाबी गरे।

यसरी गरिएको थियो ड्रोन ईमेजमा आधारित नगरपालिकाभरको मेट्रिक घर नम्बर तथा ठेगाना प्रणाली :

कोभिड १९ महामारीको लकडाउनमा काठमाडौँ उपत्यकाको आकाश र जमिन पूर्णरुपमा खुल्ला हुन पुग्यो यो अवसरमा चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिकाभरको पूर्ण ड्रोन सर्वेक्षण एवं म्यापिङ्ग काठमाडौँ विश्वविद्यालय, नक्सा प्रालि, नेपाल फ्लाईङ्ग ल्याब्स, ए‍यसलिफ्ट टेक्नोलोजी जस्ता दक्ष विज्ञ समूहको सहयोगमा निशूल्क रुपमा सम्पन्न गर्यो।

ड्रोन सर्वेक्षण एवं नक्साकंनबाट उत्पादित नक्सालाई पालिकाले प्रदान गर्ने के के सेवामा प्रयोग गर्न सकिन्छ, जसले नगरबासी तथा स्थानीय तहलाई प्रत्यक्ष फाइदा पुगोस् भन्ने छलफल गरियो। यस छलफलबाट ड्रोन उत्पादिन उच्च क्षमताको अर्थोफोटो नक्साको प्रयोगबाट मेट्रिक घर नम्बरिङ्ग गर्दा नेपालमा अन्य शहरहरुमा शुरु भएका घर नम्बरिङ्ग तथा ठेगाना प्रणालीको पद्धति भन्दा एकदमै फरक, कम लागतमा, थप गुणस्तरीय एवं छिटो हुने निश्कर्ष सहित दक्ष परामर्शदाता छनोट पश्चात मेट्रिक घर नम्बरिङ्ग गर्ने कार्यको सुरुवात गरिएको थियो।

करिब ९ महिनाको अवधिमा थुप्रै पटक जनप्रतिनिधि तथा प्रविधिक टोलीको सक्रिय सहभागिता, वडा वडामा विभिन्न चरणमा भएका सडक नामाकरण कार्यशाला, धुलिखेल कार्यशाला, पनौती कार्यशालाको प्रमाणीकरण कार्यशाला मार्फत अन्तत : ड्रोन ईमेजमा आधारित चाँगुनारायण नगरपालिकाको सबै घर धुरीहरुको घर नम्बरिङ्ग उत्पादन गर्ने कार्य सम्पन्न भएको बताईएको छ।

तत् पश्चात उत्पादित घर नम्बरहरुलाई व्यवस्थित सूचना प्रणालीमा राख्दै नयाँ भवन निर्माण ईजाजत दिँदा घर नम्बर स्वत : प्रणालीगत रुपमा उत्पादन गर्ने प्रणाली निर्माण गरियो । नागरिकले आफ्नो घर तथा भवन भत्काउँदा प्रणालीबाट घर नम्बर हटाउने मेट्रिक हाउस एड्रेसिङ्ग सिस्टम (Metric House Addressing System) प्रणालीको समेत निर्माण गरि यस प्रणालीलाई दिगो रुपमा संचालन गर्ने मूल आधार समेत तयारी गरिसकेको नगरपालिकाको भनाई छ ।

यस प्रणालीलाई दिगो रुपमा संचालन गर्नको लागि नगरपालिको जनप्रतिनिधि तथा प्राविधिक कर्मचारीहरुलाई एक दिवसीय कार्यक्रम तथा तालिमा समेत आयोजना गरिसकेको छ।

परिक्षणको रुपमा नगरपालिकाका ६, ७, ८, ९ वडामा उत्पादित घर नम्बरहरुको घर नम्बर प्लेट छपाई गरिएको थियो।

स्याटेलाइट ईमेजमा आधारित मानवीय घर नम्बरिङ्ग प्रणाली एवं अन्य मानवीय तवरको मेट्रिक घर नम्बर प्रणाली उत्पादन ललितपुर महानगरपालिका, बौढीकाली गाँउपालिका, दमक नगरपालिका, जस्ता अन्य पालिकाले गरेतापनि पूर्ण ड्रोन ईमेजमा आधारित नगरपालिका स्तरमा गरिएको अटोमेटेड मेट्रिक घर नम्बरिङ्ग तथा ठेगाना प्रणाली लागू गर्ने पहिलो स्थानीय तह बनेको जनाएको छ।

प्रकाशित: १५ श्रावण २०८१, मंगलवार

तपाइको प्रतिक्रिया