‘एप्पल इन्टेलिजेन्स’ केही ढिलो आउने, सेप्टेम्बरमा सार्वजनिक हुने डिभाइसमा उपलब्ध नहुने

Technology Khabar १५ श्रावण २०८१, मंगलवार

काठमाडौं ।

एप्पलको एआई सेवा एप्पल इन्टेलिजेन्स तत्कालै उपलब्ध नहुने भएको छ । ब्लूमबर्ग न्युजका अनुसार यसको उपलब्धतामा केही ढिलाई भएको हो ।

यस मामिलासम्बद्ध व्यक्तिहरुका अनुसार आगामी सेप्टेम्बरमा सार्वजनिक हुने आईफोनहरुमा यो सुविधा समावेश नहुने भएको छ।

सार्वजनिक हुने क्रममा नै यो सुविधा राखेर पठाउने कम्पनीको योजनामा ढिलाई भएका कारण अक्टोबर महिनामा दिइने अपडेटमा यो सुविधा पनि समावेश हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

एप्पलले यो एआई सुविधा डेभलपरहरुलाई नै पठाउन पनि बाँकी छ तर यही हप्ता आईओएस १८.१ बिटा तथा आईप्याडओएस १८.१ बिटामार्फत् आउने समाचारमा जनाइएको छ।

शुरुमा गत जुन महिनामा विश्वव्यापी डेभलपर कांग्रेसका क्रममा उल्लेख गरिएको यो सेवा एप्पलका ए१७ तथा एम सिरिजका चिप समावेश भएका डिभाइसहरुमा उपलब्ध हुने जनाइएको छ।

समाचारमा उल्लेख भए अनुसार २०२१ अप्रिल पछि सार्वजनिक भएका आईप्याड प्रो ट्याब्लेटहरु, २०२२ मार्चपछि आएका सबै आईप्याड एयर ट्याब्लेटहरुका साथ आईफोन १५ प्रो तथा १५ प्रो म्याक्स स्मार्टफोन जस्ता पुराना डिभाइसमा पनि यो सेवा उपलब्ध हुनेछ।

अघिल्लो महिना एप्पलले सर्वसाधारणलाई प्रविधिसम्बन्धी युरोपेली युनियनको नियमका कारण आफ्नो एआई सुविधा ढिलो हुने जानकारी दिएको थियो ।

कम्पनीले युरोपेली युनियनको डिजिटल मार्केट ऐनका कारण नियामकको अनिश्चितताले गर्दा यो क्षेत्रका प्रयोगकर्ताका लागि २०२४ मा फोन मिररिङ, शेयरप्ले स्क्रीन तथा एप्पल इन्टेलिजेन्स सुविधा उपलब्ध नहुने बताएको हो।

प्रकाशित: १५ श्रावण २०८१, मंगलवार

तपाइको प्रतिक्रिया