Technology Khabar १५ श्रावण २०८१, मंगलवार
काठमाडौं ।
एप्पल पहिलो पटक चीनका शीर्ष पाँच स्मार्टफोन बिक्रेताहरूको सूचीबाट बाहिरिएको छ। सन् २०२४ को दोस्रो त्रैमासमा चीनमा आईफोनको ढुवानी वार्षिक ६.७ प्रतिशतले घटेको बजार अनुसन्धान फर्म क्यानालिसिसले जनाएको छ।
विश्लेषकहरूले यो गिरावटको श्रेय स्वदेशी ब्रान्डहरूको पुनरुत्थानलाई दिएका छन्। उन्नत तथा स्थानीय रूपमा उत्पादिता सामग्रीयुक्त ह्वावे, भिभो, ओप्पो, अनर र शाओमीजस्ता चिनियाँ कम्पनीहरूको बजार उल्लेखनीय रुपमा वृद्धि भएको छ।
विशेष गरी ह्वावेले एप्पलको शीर्ष स्थितिलाई चुनौती दिँदै हाई–इन्ड बजारमा बलियो पुनरागमन गरेको छ।
चिनियाँ स्मार्टफोन बजार समग्रमा वार्षिक रूपमा १० प्रतिशत बढेको र दोस्रो त्रैमासमा ७ करोड थान ढुवानी गरिएको उल्लेख छ। भिभोले १९ प्रतिशत सेयर (१ करोड ३१ लाख थान शिपमेन्ट) का साथ बजारको नेतृत्व गर्न सफल भएको छ।
त्यसपछि ओप्पो, अनर र ह्वावे, प्रत्येकले लगभग १-१ करोड थान ढुवानी गरेको थप उल्लेख गरिएएको छ। त्यसका साथै संघर्ष गरिरहेको शाओमीको बजार पनि १७ प्रतिशत वार्षिक वृद्धि भएको र १ करोड थान एकाइ ढुवानीका साथमा शीर्ष पाँचमा पुनः प्रवेश गर्न सफल भएको उल्लेख छ।
यसको विपरीत, एप्पलको ढुवानी ९७ लाख थानमा घटेको र यसको १४ प्रतिशत बजार सेयर रहेको जनाइएको छ। २३ प्रतिशतसम्म छुट प्रदान गरे तापनि कम्पनीले आफ्नो स्थिति कायम राख्न संघर्ष गर्नु परेको थप उल्लेख गरिएको छ।
समाचार संस्था गीज्मोचाइनाका अनुसार स्थानीय प्रतिस्पर्धीहरूले स्थानीय आपूर्ति श्रृंखला र चिनियाँ उपभोक्ताहरूको घरेलु ब्रान्डप्रतिको बलियो वफादारीबाट लाभ उठाएको जनाइएको छ।
त्यसैगरी यो गिरावटको प्रतिक्रियामा एप्पलका प्रमुख अपरेटिङ अफिसर जेफ विलियम्सले भर्खरै अधिकारीहरूसँग भेट्न र बजारप्रति कम्पनीको प्रतिबद्धता पुनः पुष्टि गर्न चीनको भ्रमण गरेका छन्।
त्यसैगरी क्यानालिसिसका विश्लेषक लुकास झोङले गुमाएको स्थिति पुनः प्राप्त गर्नको लागि एप्पलले आफ्नो “एप्पल इन्टेलिजेन्स” प्लेटफर्मलाई अर्को वर्ष भित्र चीनको लागि स्थानीयकरण गर्न आवश्यक रहेको सुझाव दिएका छन्।
साथै आगामी आईफोन १६ लाइनअपले माग बढाउने र एप्पलको बजार स्थिति सुधार गर्ने अवसर प्रदान गर्ने थप उल्लेख गरिएको छ।
यद्यपि, आगामी दिनहरुमा बजारको प्रतिस्पर्धा थप कडा हँदै जाने उल्लेख गरिएको छ। घरेलु ब्रान्डहरूले प्रतिस्पर्धी मूल्यहरूमा आकर्षक सुविधाहरू प्रदान गर्नेछन् भने एप्पलले चीनमा आफ्नो पुरानो प्रभुत्वलाई अनुकूलन गर्न र पुनः दावी गर्न सक्छ वा सक्दैन भनेर हेर्नको लागि पर्खनु पर्ने गीज्मोचाइनामा उल्लेख छ।
प्रकाशित: १५ श्रावण २०८१, मंगलवार