पुन: सेवामा फर्कँदै अमेरिकाको स्वचालित डेलिभरी स्टार्टअप नुरो

  • Technology Khabar | १५ श्रावण २०८१, मंगलवार
पुन: सेवामा फर्कँदै अमेरिकाको स्वचालित डेलिभरी स्टार्टअप नुरो

काठमाडौं ।

क्यालिफोर्नियाको यातायात विभागले यसै हप्ता अनुमति दिएपछि स्थानीय स्वचालित डेलिभरी स्टार्टअप नुरोलाई पुन: सेवामा फर्कन बाटो खुलेको छ।

विभागले नुरोलाई हालै बे एरियाका ४ शहरमा तेस्रो जेनेरेशनको आर३ स्वचालित डेलिभरी सवारी परीक्षणको अनुमति दिएको हो । केही समययता आर्थिक अभाव र अन्य समस्या भोगिरहेको उक्त स्टार्टअपका लागि यो अनुमति निकै सकारात्मक हुने देखिएको समाचार संस्था टेकक्रञ्चले जनाएको छ।

यो स्वीकृतिपछि नुरोले माउन्टेन भ्यू, पालो अल्टो, लस अल्टोस र मेन्लो पार्कमा चालकविहीन डेलिभरी सवारीको परीक्षण गर्न सक्ने भएको छ । सिट, झ्याल, स्टेयरिङ ह्वील वा पेडल नभएका नुरोका यी सवारीहरु यात्रु बोक्नका लागि नभई सामानहरूका लागि मात्र डिजाइन गरिएका हुन्।

यिनीहरू सार्वजनिक सडकहरूमा सञ्चालन हुने भएता पनि फुटपाथमा चल्ने ठूला डेलिभरी रोबोटहरू जस्तै देखिन्छन् । यिनीहरु खाना राख्नको लागि तापक्रम-नियन्त्रित भण्डारण एकाइहरूसहित पूर्णरुपमा सुसज्जित रहने बताइएको छ।

हालै अद्यावधिक गरिएको यो भौगोलिक क्षेत्र चालकरहित सवारी परिचालन गरिएको यो अमेरिकाका तेस्रो शहर भएको बुझिएको छ। नुरोले उबर इट्ससँग १० वर्षको सम्झौता पनि गरेको छ।

नुरोले आफ्नो आर ३ सवारी विगत २ वर्षदेखि देखाउँदै आएको भए पनि गत वर्ष भने यसको उत्पादनमा केही समय अल्पविराम लगाएको थियो। कुनै बेला उच्च वर्गका लगानीकर्ताबाट २ अर्ब डलर संकलन गरेर स्वचालित सवारीको क्षेत्रमा ख्याति कमाएको यो कम्पनी केही समययता आर्थिक अभावको चपेटामा परेको थियो।

टेकक्रञ्चका अनुसार नुरोले आक्रामक उत्पादन वा व्यापक व्यावसायिक सञ्चालनको लक्ष्य लिएको छैन। बरु कम्पनी हाल आफ्नो एआई संयन्त्रको परीक्षण र अनुमोदनमा लागेको बताएको छ।

प्रकाशित: १५ श्रावण २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार