गादिवराह सामुदायिक वनमा विज्ञान पार्क निर्माण सुरू

Technology Khabar १४ श्रावण २०८१, सोमबार

गादिवराह सामुदायिक वनमा विज्ञान पार्क निर्माण सुरू
एआईको सहयोगमा तयार पारिएको साइन्स पार्कको अवधारणा तस्विर।

काठमाडौं ।

तुलसीपुरस्थित गादिवराह सामुदायिक वनमा विज्ञान पार्क निर्माण सुरू गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरस्थित गादिवराह सामुदायिक वन समूहको जग्गामा पार्क निर्माण सुरू गरिएको हो।

विज्ञानसँग जोडिएका विषय संरक्षण गर्ने उद्देश्यले पार्क निर्माणको कामको थालनी गरिएको वन समूहका अध्यक्ष ठाकुरप्रसाद वञ्जाडेले जानकारी दिए। उनकानुसार पहिलो चरणमा वन संरक्षणका लागि तारजाली लगाउने काम सम्पन्न भएको छ भने बाँकी काम चाँडै सुरू गर्ने तयारी छ। पार्क निर्माणका लागि हालसम्म करिब रु २५ लाख खर्च भइसकेको अध्यक्ष वञ्जाडेले जानकारी दिए।

“पार्क निर्माणका लागि आवश्यक पर्ने रकमका लागि तीनै तहका सरकारसँग समन्वय भइरहेको छ। तुलसीपुर उपमहानगरपालिकाबाट यस आर्थिक वर्षमा केही बजेट विनियोजन भए पनि प्रदेश र सङ्घीय सरकारबाट समेत बजेट प्राप्त हुने अपेक्षा लिएका छौँ”, उनले भने।

निर्धारित लक्ष्यअनुसार पार्क निर्माण भएमा विभिन्न १० ओटा विषयको अध्ययन तथा अवलोकन गर्न पाइने जनाइएको छ। जसमध्ये वनस्पति विज्ञान, रसायन विज्ञान, भौतिक विज्ञान, खगोल विज्ञान, जीव विज्ञान, पूर्वीय दर्शन, योग, आयुर्वेद, गुरूकूल र सङ्गीत सङ्ग्रहालयका बारेमा अवलोकन, अध्ययन तथा अनुसन्धान गर्न पाइने छ।

तीन सय चार हेक्टर क्षेत्रफलमा फैलिएको वनमा विज्ञान पार्क निर्माणका लागि करिब ५३ हेक्टर क्षेत्रफल आवश्यक पर्नेछ।

“उपयोगमा आएर पनि लोप भइरहेका वस्तुलाई संरक्षण गरेर नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले पार्क निर्माण गर्न थालिएको हो। यसले विशेष गरी विद्यार्थीलाई निकै सघाउ पुग्नेछ”, अध्यक्ष बञ्जाडेले भने। रासस

प्रकाशित: १४ श्रावण २०८१, सोमबार

तपाइको प्रतिक्रिया