टिकटकले प्रयोगकर्ताका संवेदनशील जानकारी संकलन गरेको अमेरिकी न्याय विभागको आरोप

Technology Khabar १४ श्रावण २०८१, सोमबार

काठमाडौं ।

अमेरिकाको न्याय विभागले टिकटकमाथि बन्दूक नियन्त्रण, गर्भपतन तथा धर्मजस्ता विषयमा प्रयोगकर्ताका विभाजित मतका बारेमा व्यापक जानकारी संकलन गर्ने गरेको आरोप लगाएको छ।

सरकारी वकिलहरुले वाशिङ्टनमा रहेको संघीय पुनरावेदन अदालतमा शुक्रबार अबेर दर्ता गरेको दस्तावेजमा टिकटक तथा यसको बेइजिङमा रहेको मूल कम्पनी बाइटडान्सले लार्क नामक आन्तरिक प्रणाली प्रयोग गरी टिकटकका कर्मचारीले सोझै चीनमा रहेका बाइटडान्सका इन्जिनियरहरुसँग कुरा गर्नसक्ने व्यवस्था मिलाएको उल्लेख गरेका समाचार संस्था एपीन्युजले जनाएको छ।

टिकटकका कर्मचारीले लार्कको प्रयोग गरी अमेरिकाका प्रयोगकर्ताका महत्वपूर्ण जानकारीहरु चिनियाँ सर्भरमा भण्डारण गरी त्यसलाई चीनमा रहेका बाइटडान्सका कर्मचारीको पहुँचमा पुर्याउने गरेको संघीय अधिकारीहरुले बताए।

लार्कको आन्तरिक सर्च टूलमध्ये एकमार्फत् बाइटडान्स तथा अमेरिका र चीनमा  रहेका टिकटकका कर्मचारीलाई धर्म तथा गर्भपतनजस्ता गम्भीर विषयमा राखिएका प्रयोगकर्ताका सामग्री तथा विचारहरुबारे जानकारी संकलन गर्न मद्दत गर्ने उक्त दस्तावेजमा उल्लेख गरिएको छ।

गत वर्ष वाल स्ट्रीट जर्नलले टिकटकले डिलिट गरिसकेका तेस्रो लिङ्गीबारेको सामग्री ड्याशबोर्ड मार्फत् हेर्ने प्रयोगकर्ताका बारेमा जानकारी संकलन गरेको समाचार रिपोर्ट छापेको थियो।

अदालतमा पेश गरिएको यो नयाँ दस्तावेजले लगभग १७ करोड अमेरिकी प्रयोगकर्ता भएको लोकप्रिय सामाजिक सञ्जाल टिकटकको भविष्यबारे भइरहेको कानुनी लडाईँमा सरकारको पहिलो उल्लेख्य बचाउको प्रतिनिधित्व गर्ने समाचारमा जनाइएको छ।

प्रकाशित: १४ श्रावण २०८१, सोमबार

तपाइको प्रतिक्रिया