एप्पल कम्पनी र मेरिल्याण्डका स्टोर कर्मचारीबीच पहिलो पटक युनियन-सम्झौता

Technology Khabar १४ श्रावण २०८१, सोमबार

काठमाडौं ।

एप्पलले मेरिल्याण्डमा युनियन खोलिएको पहिलो स्टोरसँग सम्झौता गरेको छ। मेरिल्याण्डमा रहेको द इन्टरनेशनल एसोसियसन अफ मशिनिस्ट्स एण्ड एरोस्पेश वर्कर्स कोएलिशन अफ अर्गनाइज्ड रिटेल इम्प्लोइज नामक संस्थाले गत शुक्रबार एप्पल कम्पनीसँग ३ वर्षका लागि सम्झौता गरेको बताएको हो ।

मेरिल्याण्डमा रहेका रिटेल कामदारहरुको उक्त संस्थाका अनुसार सम्झौतापछि कम्पनीले कामदारहरुको तलब १ प्रतिशतले बढाउनुका साथै अन्य सुविधाहरु प्रदान गर्नेछ।    

यो सम्झौता लागू हुन टोसनको अर्धशहरी क्षेत्र बाल्टिमोरमा रहेको उक्त स्टोरका लगभग ८५ प्रतिशत कामदारले अनुमोदन गर्नुपर्ने समाचार संस्था एपीन्युजले उल्लेख गरेको छ। यसका लागि आगामी अगस्ट ६ तारिखका दिन मतदान हुने तय भएको छ।

‘एप्पलसँग यो सम्झौता गरेर हामी हाम्रा सदस्यहरुको भविष्य राम्रो बनाउनतर्फ लागेका छौं साथै यो अझै बढी सुविधाहरु प्राप्त गर्ने बाटोको पहिलो चरण हो’, उक्त युनियनको सम्वाद समितिले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘हामी सबै मिलेर अगाडि बढेमा यो सफलतालाई आगामी दिनमा अन्य स्टोरहरुमा पनि विस्तार गर्न सक्नेछौं ।’

एप्पलले यसबारेमा तत्काल कुनै प्रतिक्रिया नदिएको एपीन्युजले जनाएको छ। गत मे महिनामा स्टोरका कामदारले व्यवस्थापनसँगको एक वर्षदेखिको सम्वादले कुनै सन्तुष्टिजनक नतिजा ल्याउन नसकेको जनाउँदै औपचारिक आन्दोलनमा उत्रेपछि उक्त सम्झौताले मूर्त रुप लिएको हो।

मेरिल्याण्डको स्टोर देशभरमा युनियन खोलिएका देशभरका जम्मा २ मध्ये एउटा स्टोर हो । त्यहाँका कर्मचारीले गत सन् २०२२ मा युनियनका पक्षमा मतदान गरेर आधिकारिक बनाएका थिए। त्यसको केही महिनापछि ओक्लोहामाको स्टोरमा पनि युनियन स्थापना गरिएको थियो।

प्रकाशित: १४ श्रावण २०८१, सोमबार

तपाइको प्रतिक्रिया