Technology Khabar १३ श्रावण २०८१, आईतवार
काठमाडौं ।
वाग्मती प्रदेश वन तथा वातावरण मन्त्रालयले वन पैदावार बिक्री प्रक्रियामा विद्युतीय प्रणालीको सुरुआत गरेको छ।
वाग्मती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव धीरेन्द्रकुमार प्रधानले काठ दाउरालगायत वन पैदावारको बिक्रीका लागि विद्युतीय माध्यमको प्रयोग सुरु गरिएको जानकारी दिए।
विद्युतीय प्रणालीको प्रयोगले लिलाम प्रक्रिया पारदर्शी र विश्वासनीय हुने र राजस्व पनि वृद्धि हुने अपेक्षा गरिएको उनको भनाइ छ। “यस कार्यबाट प्रचलित वनसम्वन्धी कानूनमा संशोधनको प्रक्रिया अघि बढनेछ, हाल वन क्षेत्रबाट उत्पादन हुने काठ तथा दाउरालगायतका वन पैदावार सिलवन्दी बोलपत्रको माध्यमबाट लिलाम बढाबढ गरी बिक्री हुँदै आएको छ”, उनले भने।
प्रधानका अनुसार वन क्षेत्रबाट उत्पादन भै व्यापारिक एवं व्यावसायिक प्रयोजनका लागि लिलाम गर्दा विद्युतीय प्रणालीको प्रयोगपछि लिलामी प्रक्रिया पूर्ण प्रतिस्पर्धी हुने तथा विचौलियाको संलग्नतामा कमी हुनेछ। यसका लागि चालु आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन भइसकेको मन्त्रालयले जनाएको छ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६९ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४६ मा सार्वजनिक खरिदमा विद्युतीय सञ्चार माध्यमको प्रयोगबाट खरिद कारोबार हुनसक्ने कानुनी प्रावधान छ । वन नियमावली, २०७९ को नियम २५ को उपनियम (१) मा व्यापारिक एवं व्यावसायिक प्रयोजनका लागि काठ दाउरा लिलाम गर्दा पूर्ण प्रतिस्पर्धाको आधारमा गर्नुपर्ने र वन नियमालली, २०७९ को नियम २५ को उपनियम (१ (क) लिलामको सूचना तत्काल सम्बन्धित कार्यालय, प्रदेश मन्त्रालय र निर्देशनालयको वेबसाइटमा राख्नुपर्ने व्यवस्था छ। रासस
प्रकाशित: १३ श्रावण २०८१, आईतवार