
काठमाडौं ।
अमेरिकाको अन्तरिक्ष उड्डयन नियामक संस्थाले स्पेसएक्सको फाल्कन ९ रकेटलाई अन्तरिक्षमा फर्कन अनुमति दिएको छ ।
संघीय उड्डयन प्रशासन एफएएका अनुसार यसअघि उडानका क्रममा समस्या आएपछि ग्राउण्ड गरिएको उक्त रकेटलाई उडान अनुमति मिलेको हो।
एफएएले गत जुलाई ११ मा प्रक्षेपणका क्रममा असफल भएको उक्त रकेटमा जनसुरक्षा सम्बन्धी कुनै समस्या नभेटिएको र उडानका लागि सक्षम रहेको तर समग्र अनुसन्धान भने जारी रहेको बताएको छ।
स्पेसएक्सले केही दिनअघि एक्समा एउटा पोस्ट गर्दै बढीमा जुलाई २७ सम्म उडान गर्न तयार रहेको बताएको थियो ।
विश्वकै सबैभन्दन बढी प्रयोग भएको फाल्कन ९ रकेट केही समयअघि अन्तरिक्षमै विस्फोट भएर त्यसमा रहेका स्टारलिंकका सबै स्याटेलाइटहरु नष्ट भएको थियो। यो असफलता वैश्विक अन्तरिक्ष उद्योगको विश्वासिलो रकेटको इतिहासमा ७ वर्षमा यो पहिलो रहेको समाचार संस्था रोयटर्सले जनाएको छ।
स्पेसएक्सले बिहीबार एक विज्ञप्तिमार्फत् उक्त समस्या तरल अक्सिजन चुहिएका कारण एउटा इन्जिनको भाग धेरै चिसो भएर हार्डवयरमा समस्या उत्पन्न भएका कारण निम्तिएको उल्लेख गरेको छ।
फाल्कन ९ नासाका सदस्यहरुलाई अन्तरराष्ट्रिय स्पेश स्टेशनमा पुर्याउन सक्षम अमेरिकाको एकमात्र रकेट हो । नासाले अन्तरिक्षयात्रीहरुको दोस्रो टोली आगामी अगस्टमा रकेटमाथि स्पेसएक्सको क्रू ड्रागन नामक क्याप्सुल राखेर पठाउने योजना बनाएको छ।
प्रकाशित: १२ श्रावण २०८१, शनिबार