सरकारले राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रुपमा सञ्चालनमा ल्याउन पूर्वाधार तयार पार्ने

Technology Khabar ११ श्रावण २०८१, शुक्रबार

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रुपमा सञ्चालनमा ल्याउन आवश्यक पर्ने पूर्वाधार र संस्थागत संरचना तयार पार्ने भएको छ ।

आज जारी भएको आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीतिमा  यस्तो व्यवस्था गरिएको हो ।

राष्ट्रिय भुक्तानी स्वीच अर्थात् नेपाल पेमेन्ट स्वीच नेपालमा कार्डमार्फत् र कार्डबाहेक हुने भुक्तानीहरुबीच अन्तर सञ्चालनको प्रत्याभूति गर्नका लागि खुद्रा कारोबारहरुको माध्यम तय गर्ने तथा समायोजन गर्ने मुख्य पूर्वाधार हो।

मौद्रिक नीतिमा यसबाहेक भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुबाट गरिने कारोबारलाई थप पारदर्शी बनाई उक्त संस्थाहरुको संस्थागत सुशासन अभिवृद्धि गर्नका लागि भुक्तानी सेवा प्रदायक संस्थाहरुले नियुक्त गरेका आधिकारिक प्रतिनिधिको कारोबारसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने पनि जनाइएको छ ।

यसबाहेक केन्द्रीय बैंकले भुक्तानी, समाशोधन र फस्र्यौटसम्बन्धी कार्य गर्ने संस्थाहरु पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने व्यवस्था गर्ने भएको छ ।

साथै केन्द्रीय बैंक विद्युतीय मुद्रासम्बन्धी अध्ययनका आधारमा होलसेल सीबीडीसी (केन्द्रीय बैंक डिजिटल मुद्रा)को प्रारुप तयार गर्ने काम पनि अगाडि बढाइने उल्लेख गरिएको छ ।

 

प्रकाशित: ११ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया