ट्रम्पमाथि गोली प्रहार गर्नेले इन्टरनेटमा जानकारी सर्च गरेको एफबीआईका निर्देशकको भनाई

Technology Khabar ११ श्रावण २०८१, शुक्रबार

ट्रम्पमाथि गोली प्रहार गर्नेले इन्टरनेटमा जानकारी सर्च गरेको एफबीआईका निर्देशकको भनाई
रिपब्लिकन राष्ट्रपति पदका उम्मेद्वार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शनिबार गोली लागेपछि मञ्चबाट निकालिँदै। तस्विर रासस/एपी

काठमाडौं ।

अमेरिकाको संघीय अनुसन्धान ब्युरो एफबीआईका निर्देशक क्रिश्टोफर रेले पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्तिले घटनाको केहीदिन अघि इन्टरनेटमा सुचना खोजेको बताएका छन् ।

द न्यूयोर्क टाइम्समा उल्लेख भएको विवरणका आधारमा रेले र्यालीमा ट्रम्पमाथि गोली प्रहार भएको हप्ता दिनअघि ‘केनेडीबाट अस्वाल्ड कति टाढा छ?’ भनेर इन्टरनेटमा सर्च गरेको बताएका हुन्।

अनुसन्धानका क्रममा २० वर्षीय टमस म्याथ्यु क्रूक्स नामक व्यक्तिले घटनाको एक हप्ताअघि आफ्नो ल्यापटपबाट सन् १९६३ मा तत्कालीन राष्ट्रपति ‍जोन एफ केनेडीको हत्या हुँदा हत्यारा हार्भे अस्वाल्ड कति दूरीमा थिए भन्ने आशयको जानकारी सर्च गरेको पाइएको ब्युरोको भनाई छ ।

सदनको न्यायिक समितिसमक्षको सुनुवाईमा निर्देशक रेले भने, ‘उक्त सर्चले ती व्यक्तिको दिमागमा तत्काल के सोच आइरहेको भन्ने हिसाबले निकै महत्व राख्दछु।’ उनले उक्त जानकारी सर्च गरेकै दिन बटलर र्यालीमा भाग लिनका लागि नाम दर्ता गराएको रेलाई उद्धृत गर्दै द भर्जले जनाएको छ।

यसबाहेक रेले ती शंकास्पद व्यक्ति क्रूक्सले गत जुलाई १३ को बिहान २ पटक बटलर र्याली हुने स्थान पेन्सल्भानियामा पुगेको बताए । द टाइम्समा छापिएको रिपोर्टका अनुसार दोस्रोपटकको उपस्थितिमा ती बन्दूकधारीले प्रदर्शन गरिने मैदान वरिपरि ११ मिनटसम्म डीजेआई कम्पनीको ड्रोन उडाएको भेटिएको रेले थपे ।

रेका अनुसार एफबीआईले गत हप्ता ती बन्दूकधारीको फोन पनि अनुसन्धान गरेकोमा उनको स्पष्ट उद्देश्य थाहा नपाइएको बताए । उनले भने, ‘उनको फोनमा रहेका थुप्रै जानकारीहरुले पनि उल्लेख्य रुपमा उनको उद्देश्य र विचारधारा प्रस्ट पार्न सकेनन् ।’

प्रकाशित: ११ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया