जापानबाट रकेट प्रक्षेपण गर्ने लक्ष्यमा अघि बढ्दै ताइवानको स्टार्टअप कम्पनी टिस्पेस

Technology Khabar ११ श्रावण २०८१, शुक्रबार

काठमाडौं ।

ताइवानको एउटा स्टार्टअप कम्पनीले आउँदो वर्ष जापानबाट आफ्नो रकेट प्रक्षेपण गर्ने लक्ष्य राखेको छ । उक्त प्रक्षेपण सफल भएको खण्डमा एशियामा अन्तरिक्ष प्रविधिको केन्द्र बन्ने जापानको महत्वाकांक्षी लक्ष्यमा सहयोगीसिद्ध हुने अन्तरिक्ष प्रविधि उद्योगका हस्तीहरुले आकलन गरेका छन्।

ताइवानको टिस्पेश नामक स्टार्टअपले गर्ने लक्ष्य राखेको उक्त सबअर्बिटल अर्थात अर्बिटबाहिरसम्मका लागि हुने बताइएको छ भने त्यस लागि जापानी नियामकको अवरोध तथा ढिलाई हुँदै आएको छ।

यस प्रकारको अवरोध र ढिलाईले जापानको आगामी १० वर्षमा २६ अर्ब डलर बराबरको अन्तरिक्ष उद्योगको आकार दुईगुणा बढाउने लक्ष्य प्राप्तिका लागि उसले विदेशी व्यापारलाई आत्मसात् गर्नुपर्ने आवश्यकतामाथि प्रश्नचिह्न खडा गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

२०१६ मा ताइवानको अन्तरिक्ष एजेन्सीका पूर्व अधिकारीहरुद्वारा स्थापना गरिएको उक्त निजी संस्थाले हालसम्म एउटा पनि सफल प्रक्षेपण गर्न सकेको छैन। संस्थाले आफ्नो भगिनी कम्पनी एटस्पेशमार्फत् पछिल्लोपटक सन् २०२२ मा अस्ट्रेलियाबाट गरेको प्रक्षेपण पनि अक्सिडाइजर चुहिएका कारण असफल भएको थियो ।

‘यो प्रस्तावित प्रक्षेपण जापान सरकारका लागि निकै राम्रो कार्यक्रम हुनुपर्छ, टिस्पेशका अध्यक्ष येन सेन चेनले अन्तरवार्ताका क्रममा बताए, यदि यो परियोजना सहज ढंगले सफल भएमा उसले अझ बढी विदेशी उपभोक्तालाई तान्न सक्छ ।’

 उनले आफूहरु रेडियो पर्मिट नामक एउटा अन्तिम नियामकीय इजाजतको प्रतीक्षामा रहेको र त्यो प्राप्त भएपछि सन् २०२५को शुरुवातसम्ममा कम्पनीको ३९ फीट लामो साउण्डिङ रकेट प्रक्षेपण हुने आशा गरिएको बताए । साउण्डिङ रकेटलाई रकेटसोण्डे, रिसर्च रकेट वा सबअर्बिटल रकेटका रुपमा पनि चिनिन्छ भने यो अन्तरीक्षमा त पुग्छ तर अर्बिटलाई छुन भने सक्दैन।

केही विश्लेषकहरुले भने ताइवानी रकेट प्रक्षेपण गर्दा ताइवानलाई आफ्नो दावी गर्दै आएको र क्षेप्यास्त्रसम्बन्धी प्रविधमा ताइवानमा भइरहेको गतिविधिमाथि अनुगमन गरिरहेको चीनको ध्यानाकर्षण हुने विचार पनि व्यक्त गरेका छन्। तर चेनका अनुसार हालसम्म त्यसप्रकारको चिन्ता कतैबाट पनि व्यक्त गरिएको छैन।

प्रकाशित: ११ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया