Technology Khabar १० श्रावण २०८१, बिहीबार
काठमाडौं ।
टेस्लाका सीईओ इलन मस्कले हालै माइक्रो ब्लगिङ प्लेटफर्म एक्समा एउटा मत सर्वेक्षण शुरु गरेका छन् ।
उक्त सर्वेक्षणमा उनले आफ्नो नयाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप एक्सएआईमा ५ अर्ब डलर लगानी गर्ने वा नगर्ने भन्ने दुई विकल्प दिएका छन् ।
उक्त सर्वेक्षणको शुरूवाती मतमा लगानी गर्ने विकल्प अत्यधिक मतदाताको छनौटमा परेको रोयटर्सले जनाएको छ ।
‘बोर्डको अनुमोदन र शेयरधनीहरुको मत आवश्यक पर्नेछ, त्यसैले यो तत्काल प्रारम्भिक परीक्षण मात्र हो’, मस्कले पोलमा उल्लेख गरेका छन् ।
यो मत सर्वेक्षण टेस्लाले आफ्ना सेवा र उत्पादनमा मूल्य कटौति र एआईका क्षेत्रमा लगानीका कारण यो वर्ष ५ वर्षयताकै सबैभन्दा कम नाफा कमाएको सन्दर्भमा अगाडि ल्याइएको हो ।
हालै टेस्लाको आम्दानी विवरणबारेको कन्फरेन्स कलमा मस्कले एक्स्एआई पूर्ण स्वचालित प्रविधिलाई उन्नत बनाउन तथा टेस्लाको नयाँ डाटा सेन्टर निर्माण गर्नमा सहयोगीसिद्ध हुने बताए । यसबाहेक उनले ग्रोक नामक एक्सएआईको च्याटबटलाई टेस्लाको सफ्टवेयरसँग समायोजना गर्ने जानकारी पनि थपे ।
उक्त पोल पोस्ट भएको ३ घण्टापछि यसमा लगभग ३ लाख ८६ हजार जनाले भाग लिएको र त्यसमध्ये ७० प्रतिशत मस्कले एआईमा लगानी गर्नुपर्छ भन्ने पक्षमा रहेको पाइएको छ। यसमा आफूहरुले मागेको प्रतिक्रियाको टेस्लाले तत्काल कुनै जवाफ नदिएको र एक्सएआईसँग सम्पर्क हुन नसकेको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: १० श्रावण २०८१, बिहीबार