Technology Khabar १० श्रावण २०८१, बिहीबार
काठमाडौं ।
बेलायतमा अब घर तथा उद्योगहरुमा हाइड्रोजनलाई इन्धनका रुपमा प्रयोग गरिने भएको छ । हालै त्यहाँको राष्ट्रिय ग्यास नेटवर्कले ग्यासको सट्टा हाइड्रोजनलाई घर तथा उद्योगहरुमा इन्धनको रूपमा प्रयोग गराउन तयार रहेको बताएको हो ।
बेलायतमा ग्यास प्रसारण सञ्जाल सञ्चालनको अनुमति पाएको उक्त नेटवर्कले हालै परीक्षणपछि प्रतिवेदन सार्वजनक गर्दै यस्तो जनाएको सञ्चार संस्था रोयटर्सले उल्लेख गरेको छ।
प्राकृतिक ग्यासलाई हाइड्रोजनले प्रतिस्थापन गर्न सकेमा कार्बन उत्सर्जन र जीवाश्म ईन्धनमा रहेको निर्भरता कम गर्न मद्दत पुग्ने प्रविधि क्षेत्रको बुझाई छ।
यसअघिको ऋषि सुनाक सरकारले यदि यो परीक्षण सफल भएको खण्डमा ग्यास वितरण सञ्जालमा परिमाणका हिसाबले २० प्रतिशतसम्म हाइड्रोजन मिश्रण गर्ने प्रस्तावको समर्थन गरेको थियो ।
उक्त परीक्षणको नतिजामा आधारित एक प्रतिवेदनमा परियोजनाको पहिलो चरणमा कुनै समस्या देखा नपरेको र ग्यासको सञ्जाल हाइड्रोजनका लागि प्रयोग गर्दा पनि कुनै उल्लेख्य अवरोध नआएको उल्लेख छ ।
उक्त परियोजना अहिले दोस्रो चरणमा प्रवेश गरेको छ । यसले मुख्यतया हाल उपलब्ध पूर्वाधारको प्रयोग गरेर हाइड्रोजन प्रसारण गर्दा आउन सक्ने कम्प्रेशनसम्बद्ध समस्याहरुको बारेमा अध्ययन गर्नेछ।
यसबाहेक यसले हाल उपलब्ध ग्यास टर्बाइनहरुलाई कम्प्रेशर स्टेशनसम्म हाइड्रोजन पुर्याउन प्रयोगमा ल्याउन सकिने सम्भाव्यताको समेत प्रदर्शन गर्ने रोयटर्समा उल्लेख छ।
प्रकाशित: १० श्रावण २०८१, बिहीबार