Technology Khabar १० श्रावण २०८१, बिहीबार
काठमाडौं ।
– साजन सुबेदी
नेपाल टेलिभिजन संस्थानले आफ्नो टेलिभिजन सेवा प्रसारणको लागि एशिया स्याटेलाइट टेलिकम्युनिकेसन्स कम्पनी लिमिटेड (एशियास्याट)सँग लिएको स्याटेलाइट स्पेसको रकम लामो समयदेखि नबुझाएको भन्दै कम्पनीले चेतावनी दिएको छ।
एशिया स्याटेलाइट टेलिकम्युनिकेसन्स कम्पनीले १७ जुलाई २०२४ मा पठाएको पत्रमा सन् २०२२ डिसेम्बर ३१ देखिको एशियास्याटको स्याटेलाइट स्लट सेवाको भाडा बापतको रकम तिर्न बाँकी रहेको देखिएको छ।
एशिया स्याटेलाइट टेलिकम्युनिकेसन्स कम्पनीको पत्रअनुसार नेपाल टेलिभिजनले हालसम्म स्याटेलाइटको स्टल भाडामा लिए बापत कुल ५ लाख ६४ हजार ६० डलर अर्थात वर्तमान मूल्यमा करिब ७ करोड ५५ लाख ८४ हजार रुपैयाँ तिर्न बाँकी रहेको देखिन्छ।
टेक्नोलोजीखबरले स्रोतबाट पाएको एशिया स्याटेलाइट टेलिकम्युनिकेसन्स कम्पनीका चिफ कमर्शियल अफिसर रेमन्ड चाउले नेपाल टेलिभिजनलाई पठाएको पत्रअनुसार २८ सेप्टेम्बर २०२२ मा एशियास्याट र नेपाल टेलिभिजन कर्पोरेसन बीच सम्झौता भएको देखिन्छ।
जसअनुसार एशियास्याटले २५ मेगाहर्ज स्ट्यान्डर्ड सी-ब्यान्ड स्पेस सेगमेन्टल नेपाल टेलिभिजनको प्रयोगको लागि २० डिसेम्बर २०२२ देखि उपलब्ध गराएको छ जुन टेलिभिजनले आवश्यकताअनुसार कहिलेकाहीँ प्रयोग गर्ने गरेको बताइएको छ।
पत्रअनुसार, एशियास्याटले सम्झौता अनुसार तपाईलाई स्पेस सेगमेन्ट/ट्रान्सपन्डर क्षमता प्रदान गरेको थियो। यद्यपि, ३१ डिसेम्बर २०२२ देखि, तपाईंले हामीलाई सम्झौता मूल्य र/वा शुल्कहरू सम्झौता अनुसार तिर्न असफल, अस्वीकार र/वा बेवास्ता गरेको दाबी छ।
“हामीले इमेल र पत्रहरू मार्फत बारम्बार अनुरोधहरू र मागहरू (मासिक डनिङ लेटरहरू र अन्तिम डनिङ लेटर २४ जून २०२४ मा पठाइएको थियो) तपाईंलाई सूचनामा राख्दै र तपाईंको पूर्वनिर्धारित/भुक्तानीको विफलताको समाधान गर्न आवश्यक छ,” पत्रमा लेखिएको छ।
तर पनि नेपाल टेलिभिजनले एशियास्याटको स्याटेलाइट उपयोग गरेबापतको ५ लाख ६४ हजार ६० डलर बाँकी बक्यौता रकम सम्झौता अनुसार भुक्तानी गर्न बेवास्ता वा असफल भएको आरोप लगाएको छ।
“सम्झौताका सर्तहरू अनुसार, इनभ्वाइस र भुक्तानीको लागि अनुरोध गरेको मितिले ३० दिन भित्र तुरुन्तै भुक्तानी गर्नुपर्ने हुन्छ, तर बारम्बार माग गर्दा पनि कुनै कारणविना बाँकी रकम भुक्तानी गरिएको छैन,” पत्रमा उल्लेख छ।
बक्यौता रकमको भुक्तानी नगर्नुले सम्झौताको उल्लङ्घन भएको भन्दै नेपाल टेलिकमलाई यही ३१ जुलाई २०२४ सम्म रकम तिर्न चेतावनी दिएको छ। समयभित्र रकम नतिरेमा एशियास्याटले कानूनी उपचारमा जाने चेतावनी दिएको छ।
“रकम तिर्न असफल हुनुभयो वा अस्वीकार गर्नुहुन्छ भने, हामीसँग सम्झौता र/वा कानून अन्तर्गत हाम्रो अधिकारहरू प्रयोग गर्ने विचार गर्नुको विकल्प छैन। तपाइँको विरुद्धमा उपलब्ध कुनै पनि र सबै उपचारहरू सम्झौताहरू र/वा कानूनमा र/वा तपाइँको सामग्री उल्लङ्घनको परिणाम स्वरूप एशियास्याटले भोगेको क्षति वा क्षतिको लागि बक्यौता रकम र क्षतिपूर्ति/क्षतिको पुन: प्राप्तिको लागि तपाइँको विरुद्ध कानुनी कार्यवाही सुरु गर्नेछ,” एशियास्याटले पठाएको पत्रमा भनिएको छ।

नेपाल टेलिभिजनले यसअघि एशियास्याटसँग टेन्डरमार्फत २५ मेगाहर्ज ब्याण्डको स्ट्याण्डर्ड सी ब्याण्ड स्याटेलाइट सेगमेन्ट जियोस्टेशनरी स्याटेलाइटमा लिएको थियो।
हेर्नुस् सम्बन्धित समाचार-
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा कमिशनको खेल, टेण्डर रोक्ने प्रयास विफल
प्रकाशित: १० श्रावण २०८१, बिहीबार