Technology Khabar १० श्रावण २०८१, बिहीबार
काठमाडौं ।
गत आर्थिक वर्ष २०८०/८१ मा २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ।
भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारको तथ्यांक अनुसार उक्त रकम बराबरको १८ लाख ३९ हजार ३५ थान स्मार्टफोन नेपाल भित्रिएको हो।
विभागको तथ्यांक अनुसार नेपालमा गत आर्थिक वर्षभर विश्वका विभिन्न ६४ देशहरु तथा एउटा नाम नखुलेको ठाउँबाट स्मार्टफोन आएको देखिएको छ।
यो अवधिमा नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आएको छ। गत आवमा चीनबाट १८ अर्ब ९५ करोड ४० लाख ७७ हजार रुपैयाँ बराबरको १३ लाख ३२ हजार ४३ थान स्मार्टफोन आयात भएको विवरण छ।
यसपछि अर्को छिमेकी मुलुक भारतबाट ९ अर्ब २५ करोड ६६ लाख २१ हजार रुपैयाँ बराबरको ५ लाख १ हजार ६७८ थान स्मार्टफोन भित्रिएको तथ्यांकमा देखिन्छ।
यसैगरी जापानबाट ७ करोड १४ लाख २१ हजार रुपैयाँ बराबरको ९६३ थान, अमेरिकाबाट १० करोड १० लाख ५९ हजार रुपैयाँ बराबरको ९७५ थान र भियतनामबाट ५ करोड ७८ लख ९६ हजार रुपैयाँ बराबरको ४७७ हजार थान स्मार्टफोन आएको छ।
यसबाहेक संयुक्त अरब इमिरेट्सबाट ६ करोड ४५ लाख ४८ हजार रुपैयाँ बराबरको ७११ थान, गणतन्त्र कोरियाबाट २ करोड ७७ लाख ५१ हजार बराबरको ४३८ थान, अस्ट्रेलियाबाट ४ करोड ७ लाख ५४ हजार बराबरको ३९२ थान आएको देखिएको छ।
यसैगरी खाडी मुलुकहरुमा कुवेतबाट ३३ लाख ४९ हजार बराबरकाे २७९ थान, कतारबाट २ करोड १४ लाख ३० हजार बराबरको २९५ थान तथा साउदी अरेबियाबाट ८९ लाख ६९ हजार रुपैयाँ बराबरको १३३ थान स्मार्टफोन भित्रिएका छन्।
बाँकी ५४ मुलुकबाट ६ करोड ५३ लाख ६७ हजार रुपैयाँ बराबरको १३ हजार ७४८ थान स्मार्टफोन नेपाल भित्रिएको भन्सार विभागको प्रतिवेदनमा उल्लेख छ।
प्रकाशित: १० श्रावण २०८१, बिहीबार