Technology Khabar ९ श्रावण २०८१, बुधबार
काठमाडौं ।
मेटाका संस्थापक मार्क जुकरबर्गले कन्टेन्ट क्रियटर अर्थात् विभिन्न सञ्चार माध्यम.तथा सामाजिक सञ्जालका लागि सामग्री उत्पादन र सिर्जना गर्ने व्यक्तिहरुले आफ्नो एआई क्लोन बनाउनुपर्ने बताएका छन्।
उनले हालै इन्टरेटका हस्ती रोवान चेउङसँगको अन्तरवार्ताका क्रममा यस्तो विचार व्यक्त गरेका हुन्
कन्टेन्ट क्रियटरहरु व्यस्त रहने र उनीहरुले आफ्ना कन्टेन्ट सिर्जनाका लागि घण्टौं बिताउनु पर्ने भएकाले यसको समाधानका रुपमा एआईका माध्यमबाट आफ्नै ‘बट’ बनाएमा समस्या कम गर्न मद्दत गर्ने उनको विचार थियो ।
घण्टौं सामग्री निर्माणमा बिताउँदा आफ्ना अडियन्ससँगको सम्बन्ध मजबुत राख्न आवश्यक समय नबच्ने भएका कारण उत्पादित सामग्रीमा सोचेजस्तो दर्शक श्रोताको उपस्थिति नहुने भएकाले यस प्रकारको समाधानको उपाय खोज्नुपर्ने उनको बुझाई हो ।
प्रविधि समाचार संस्था टेकक्रञ्चमा उल्लेख भए अनुसार जुकरबर्गले कन्टेन्ट क्रियटरहरुले बट बनाउँदा उनीहरुको व्यक्तित्व र व्यापारिक उद्देश्य प्रस्ट झल्किने हुनुपर्नेमा जोड दिएका छन्।
यसो भएको खण्डमा सर्जकहरुले आफैं उपस्थित भएर समुदाय वा अडियन्ससँग बसिरहनु पनि नपर्ने र अडियन्ससँगको सम्बन्धमा पनि कमी नआउने भएकाले उनीहरुले अझ बढी र सशक्त सामग्री निर्माणमा जोड दिनसक्ने उनको ठम्याई छ।
“मलाई लाग्छ त्यहाँ एक ठूलो बाटो खुल्न गइरहेको छ जहाँ मूलतः प्रत्येक सिर्जनाकर्ताले सामाजिक सञ्जालबाट आफ्ना सबै जानकारी तान्न सक्छन् र यी प्रणालीहरूलाई उनीहरूको मूल्य र उद्देश्यहरू र उनीहरूले गर्न खोजेका कुराहरू प्रतिबिम्बित गर्न प्रशिक्षण दिन सक्छन् । र त्यसपछि मानिसहरूले उनीहरुसँग अन्तरक्रिया गर्न सक्छन्”, जुकरबर्गले भने, “यो लगभग यो कलात्मक कलाकृति जस्तै हुनेछ जुन सिर्जनाकर्ताहरूले सिर्जना गर्छन् र मानिसहरूले विभिन्न तरिकाबाट त्यससँग अन्तरक्रिया गर्न सक्छन्।”
प्रकाशित: ९ श्रावण २०८१, बुधबार