Technology Khabar ८ श्रावण २०८१, मंगलवार
काठमाडौं ।
देशभरका मोबाईल व्यवसायीहरुको छाता संगठन नेपाल मोबाईल व्यवसायी महासंघले नाफा मार्जिन वृद्धि गराइदिनका लागि मोबाइल फोन इम्पोर्टर एसोसियसन अफ नेपाल समक्ष आग्रह गरेको छ।
महासंघले एक औपचारिक पत्रमार्फत् मोबाइल फोन आयातकर्ताहरुको साझा संगठनसमक्ष यस्तो आग्रह गरेको हो।
महासंघका महासचिव सन्तोष घिमिरेद्वारा हस्ताक्षरित उक्त पत्रमा महासंघले आफूहरुलाई उपलब्ध भइरहेको मोबाईल फोनहरुमा मार्जिन एकदमै कम भएकोले व्यवसायीहरु मर्कामा परेका र कतिपय व्यवसायी पलायन समेत हुन बाध्य भएको उल्लेख छ।
यसै अवस्थालाई मध्यनजर गर्दै नयाँ आर्थिक वर्षको शुरुवातदेखि कम्तीमा ७ प्रतिशत तथा आगामी असोज मसान्तदेखि कम्तीमा १० प्रतिशत नाफा मार्जिन हुनुपर्ने उनीहरुको आग्रह छ।
विज्ञप्तिमा लेखिएको छ, ‘व्यवसायीहरु सुरक्षित होउन् भन्ने हेतुले हजुरहरुबाट उपलब्ध हुने सम्पूर्ण मोबाईलहरुमा यही आर्थिक वर्ष ०८१०८२ को सुरुवात देखी कम्तिमा ७ (सात) प्रतिशत र आउदो मिति २०८१ साल अशोज मसान्त पश्चात कम्तिमा १० (दश) प्रतिशत मार्जिन सिधै बिलमा नै आउने गरी व्यवस्था मिलाई व्यवसाय र व्यवसायीलाई सुरक्षित राख्न देशैभरीको व्यवसायीहरुको माग छ।’
यो मागप्रति एसोसिएसनले सकारात्मक पहल गरी छिटो सम्बोधन गरिदिनेछ भन्नाम महासंघ आशावादी रहेको जनाइएको छ।
हेडलाइन संसोधन-सम्पादक
प्रकाशित: ८ श्रावण २०८१, मंगलवार