Technology Khabar २९ असार २०८१, शनिबार
काठमाडौं ।
इलामको सूर्योदय नगरपालिकाको फिक्कल अस्पतालमा बायो केमेस्ट्रीको पूर्ण स्वचालित ‘एनालाइजर मेसिन’ जडान गरिएको छ। नागरिकको स्वास्थ्यलाई दृष्टिगत गर्दै अत्यन्तै छिटो परीक्षण रिपोर्ट दिने गरी नगरले बायोकेमेस्ट्रीको पूर्ण स्वचालित एनालाइजर मेसिन जडान गरेको हो।
सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मेसिन खरिद गरी अस्पताललाई शुक्रबार हस्तान्तरण गरिएको हो। मेसिन हस्तान्तरण कार्यक्रममा नगरप्रमुख रणबहादुर राई, नगर उपप्रमुख दुर्गाकुमार बराल, प्रमुख प्रशासकीय मिलन भट्टराईलगायतको उपस्थिति थियो।
मेसिन नेपालमै पहिलो पटक फिक्कल अस्पतालमा जडान गरिएको सूर्योदय नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विपुल अधिकारीले जानकारी दिए। मेसिन जडान भएपछि जुनसुकै ल्याबको रिपोर्ट मेसिन चालु भएको १५ मिनेटमा र त्यसपछिको रिपोर्ट प्रत्येक १५/१५ सेकेन्डमा प्राप्त गर्न सकिने शाखा प्रमुख अधिकारीले जानकारी दिए।
जापानी कम्पनीको ‘बायोलिस ३० आई फुलअटोमेटिक बायोकेमिकल एनालाइजर मेसिन’ को मूल्य बजारमा ४५ लाख भारु छ । मेसिनबाट आएएफटी, एलएफटी लिपिट प्रोफाइललगायत २३० प्रकारको परीक्षण गर्न सकिने जनाइएको छ।
मेसिनले एक दिनमा एक हजार पाँच सय जनाको परीक्षण गरी तत्काल रिपोर्ट दिन सक्ने दाबी गरिएको छ। शाखा प्रमुख अधिकारीले दुई/तीन घण्टा पर्खेर लिनुपर्ने रिपोर्ट अब बढीमा २० मिनेटमा पाइने भएपछि सेवाग्राहीलाई सहज हुने बताए। उनले भने, “यो मेसिन स्वचालित भएकाले रिपोर्टमा कुनै तलमाथि हुँदैन। यहाँको रिपोर्ट जहाँ गए पनि मान्य हुन्छ।”
नगरप्रमुख रणबहादुर राईले नगरवासीले अन्यत्र गएर महँगो खर्च तिरेर उपचार गर्नु नपरोस् भनेर नगरले नयाँ प्रविधिको मेसिन जडान गरेको जानकारी बताए। गोरखापत्रबाट
प्रकाशित: २९ असार २०८१, शनिबार