साल्पासिलिछोद्वारा निःशुल्क प्राविधिक शिक्षा

Technology Khabar २८ असार २०८१, शुक्रबार

काठमाडौं ।

भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाले विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्ने कार्यक्रम अघि सारेको छ।

गाउँपालिकाले कृषि तथा प्राविधिक शिक्षामा जोड दिन प्रत्येक वर्ष छ जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिने भएको हो ।

यो कार्यक्रमअन्तर्गत एक वर्षमा छ जना विद्यार्थीलाई निःशुल्क कृषि तथा अन्य प्राविधिक शिक्षा प्रदान गरिने गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए। विद्यार्थीहरुलाई सानो उमेरमा कृषि तथा प्रविधिसम्बन्धी प्रयोगात्मक ज्ञान प्रदान गर्ने लक्ष्यले यो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष राईले बताए।

कृषि तथा प्रविधि क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यले ‘अध्यक्ष प्राविधिक शिक्षा सहायता कार्यक्रम’ सञ्चालनको लागि बजेट विनियोजना गरेको उनको भनाइ छ।

“हामीले विद्यार्थीलाई प्राविधिकसँगै व्यवहारिक ज्ञान दिन आवश्यक छ”, अध्यक्ष कुलुङले भने, “उनीहरुलाई प्राविधिक शिक्षा दिने लक्ष्यले विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिने व्यवस्था मिलाएका छौँ। गाउँपालिकाले यहाँ नै प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो।”

खास गरेर यो कार्यक्रमअन्तर्गत कृषि र भेटेनेनरी क्षेत्रलाई जोड दिने अध्यक्ष कुलुङको भनाइ छ। उत्पादनको राम्रो सम्भावना भएका क्षेत्रलाई समेटेर कृषकलाई प्रोत्साहनको कार्यक्रमसमेत सञ्चालन भइरहेको अध्यक्ष कुलुङले बताए।

दक्ष कृषि प्राविधिकको अभावमा किसानलाई कुनै समस्या नहोस् भन्नको लागि गाउँपालिकाले जनशक्ति व्यवस्थापनमा जोड दिएको उनको भनाछ । कृषकलाई सहज रुपमा कृषिसम्बन्धी सहायता प्रदान गर्न छवटै वडामा कृषि प्राविधिक राख्ने व्यवस्था मिलाएको अध्यक्ष कुलुङको भनाइ छ। रासस

प्रकाशित: २८ असार २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया