Technology Khabar १३ असार २०८१, बिहीबार
काठमाडौं ।
मोरङ जिल्लामा स्थानीय तहका वडाबाट राष्ट्रिय परिचयपत्र कार्ड वितरण तथा विवरण सङ्कलनका लागि अभियान शुरु भएको छ। विवरण सङ्कलन भइसेका वडामा पुगेर परिचयपत्र कार्ड वितरण गर्ने र छुटेकाहरूको विवरण सङ्कलनका लागि अभियान शुरु भएको हो।
१७ ओटा पालिका मध्ये पहिलो चरणमा रंगेली नगरपालिकाको सबै वडामा तथा महानगरपालिकाको एक नम्बर वडा देखि ८ नम्बरका सबै वडा र ११ नम्बर वडामा परिचयपत्र कार्ड वितरण गर्न लागिएको हो।
जिल्ला प्रशासन कार्यालय मोरङकाअनुसार मङ्गलवारदेखि विराटनगर महानगरपालिका र रंगेली नगरपालिकामा परिचयपत्र कार्ड वितरण शुरु भएको छ। दुवै पालिकामा छापिएर आएका एक लाख कार्ड वितरण गरिने तयारी छ।
कार्यालयको समयमा आधा समय परिचयपत्र कार्ड वितरण गर्ने र आधा समय विवरण सङ्कलन गर्ने गरी व्यवस्था मिलाइएको छ। अभियानमा अन्तर्गत खटिने कर्मचारी तथा अपरेटरहरूलाई तालिम लिएर अभियान सञ्चालनका लागि वडा तहमा पुगी सकेका छन् । सो कार्यमा ३० जना जनशक्ति परिचालन हुने छन्। परिचयपत्र लिनका लागि बायोमेट्रिक अनिवार्य गरिएको छ । सो प्रणाली अनिवार्य गरिएकाले परिचयपत्र कार्ड लिन कार्डमा नाम भएको व्यक्ति स्वयं उपस्थिति हुनुपर्ने छ।
यस बाहेक पनि जिल्ला प्रशासन कार्यालयबाट परिचयपत्र कार्ड वितरण नियमति भइरहेको छ । विवरण सङ्कलन भएका १५ दिनमा कार्ड छापेर आउने भएकाले सो कार्यालयबाट दैनिक २ सय जनालाई कार्ड वितरण गरिरहेको बताईएको छ।
पालिका स्तरमा तिन महिनासम्म सञ्चालन हुने यो अभियान अन्तर्गत पहिलो चरणमा मोरङ जिल्लामा ४ लाख ६० हजार परिचय पत्र कार्ड वितरण गर्न लागिएको हो।
नेपाल सरकारको राष्ट्रिय अभियान अन्तर्गत राष्ट्रिय परिचयपत्र बनाउनका लागि २०७८ साल असोजदेखि जिल्लामा विवरण सङ्कलन कार्य शुरु गरेको थियो । त्यतिखेर टोलीले १७ ओटै पालिकाका सबै वडामा पुगेर विवरण सङ्कलन गरेको थियो । सो अवधिमा ६ लाख ३० हजार विवरण सङ्कलन भएको थियो।
प्रकाशित: १३ असार २०८१, बिहीबार