पारमाणविक पदार्थ विकिरण व्यवस्थापन तालिम सम्पन्न

Technology Khabar १२ असार २०८१, बुधबार

पारमाणविक पदार्थ विकिरण व्यवस्थापन तालिम सम्पन्न
फाइल तस्विर

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पारमाणविक पदार्थ विकिरणको प्रयोग, सुरक्षा र संरक्षणसम्बन्धी व्यवस्थापनको काम अघि बढाएको छ।

रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐनबमोजिम मन्त्रालयले विकिरणको प्रयोग, सुरक्षा र संरक्षणसम्बन्धी निरीक्षकलाई एक महिने तालिम सञ्चालन गरेको छ।

मन्त्रालयको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखाले सञ्चालन गरेको तालिम आज समापन गरिएको मन्त्रालयका विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनीले बताए।

तालिममा मन्त्रालयका पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा, विज्ञान प्रविधि महाशाखा, वनस्पति विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, भौतिक शास्त्र केन्द्रीय विभाग, रसायन शास्त्र केन्द्रीय विभाग, वीर अस्पताल, सिभिल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलगायतका निकायबाट प्रशिक्षार्थी सहभागी थिए।

ऐनअन्तर्गत बनेको नियमावलीमा विकिरण निरीक्षकको व्यवस्था छ। परमाणु विज्ञान वा परमाणु इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण, आयोनिकरण गर्ने विकिरणको प्रयोग, संरक्षण तथा सुरक्षा सम्बन्धमा नियमनकारी निकायले निर्धारण गरेबमोजिम कम्तीमा एक महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने व्यवस्था छ।

शिक्षामन्त्री सुमना श्रेष्ठले रेडियोधर्मी पदार्थसँग सम्बन्धित अभ्यास, क्रियाकलाप र संयन्त्रको नियमनमा प्रशिक्षकको भूमिका महत्वपूर्ण हुने बताईन्। उनले मन्त्रालयले शिक्षातर्फको मात्र नभइ विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि पनि उत्तिकै जिम्मेवारीका साथ काम गरिरहेको जानकारी दिईन।रासस

प्रकाशित: १२ असार २०८१, बुधबार

तपाइको प्रतिक्रिया