Technology Khabar १० असार २०८१, सोमबार
काठमाडौं ।
काठमाडौं महानगरपालिकाले दरवारमार्ग क्षेत्रमा रहेका इन्टरनेट तथा केबुलका तारहरुलाई अन्डरग्राउण्ड गर्ने योजना लिएको छ।
महानगरपालिकाले यस विषयमा इन्टरनेट सेवा प्रदायकहरु तथा इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था आइस्पानसँग समेत पहिलो चरणको छलफल गरिसकेको छ।
गत जेठ २८ गते यस विषयमा सेवा प्रदायकहरु प्राविधिक सहितको बैठक बसेर पहिलो चरणमा दरबारमार्गलाई ताररहित बनाउने तयारी गरेको हो। यसको लागि केबुल अन्डरग्राउण्डिङ्ग कार्य गर्ने र एकीकृतरुपमा व्यवस्थित रुपले सेवा प्रवाह गर्ने सम्बन्धमा छलफल भएको हो।
उक्त बैठकले १५ दिनभित्र आइस्पानले कन्सेप्टच्यूएल डिजाइन ड्रइङ्ग पेश गर्ने सहमति गरेको थियो।
यसैगरी आवश्यक परेमा दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग पनि बैठक बसेर छलफल गर्ने निर्णय गरेको थियो।
महानगरपालिकाका सहायक प्रवक्ता दिपक अधिकारीले यसलाई नमूनाको रुपमा शुरु गर्ने योजना लिईएको जानकारी दिए।
“यसका लागि युटिलिटी डकिङ्ग गर्ने योजना हो। पहिलो चरणमा दरबारमार्गबाट गर्ने र सफल भएमा महानगरभित्र सबै मुख्य बाटोहरुमा गरिनेछ,” उनले टेक्नोलोजीखबरसँग भने।
अहिलेपनि महानगरपालिकाले विभिन्न स्थानहरुमा टोली खटाएर तार व्यवस्थापन गरिरहेको भन्दै त्यसले समेत समाधान नसकिने देखिएको बताए।
“महानगरले गत वर्ष १०० भन्दा धेरै स्थानमा पोलका तारहरु व्यवस्थित गरेपनि त्यो निरन्तर गर्न संभव देखिएन। हरेक स्थान र टोलमा आइएसपीहरुको अस्वस्थ प्रतिस्पर्धा छ। त्यसले पनि समस्यामा पारेको हो।”
उनले केबुलहरुलाई भूमिगत गर्नको लागि महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा रकम बिनियोजन गरेर नै शुरुवात गर्ने तयारी रहेको बताए।
यस्तै, आइस्पानका सीईओ सुभाष खड्काले यसको लागि आइस्पानले प्राविधिक सहायता दिने र थप छलफल गरेर अगाडि बढ्ने बैठकको निर्णय रहेको बताए।
“हामीलाई युटिलिटी डकको प्राविधिक डिजाइनलगायत तयार पार्न भनिएको छ। यसमा महानगरले बजेट दिने र सेवा प्रदायकहरुको सहयोगमा अन्डरग्राउन्डिङ्ग गरिने जानकारी दिईएको हो,” उनले भने।
उनले यस बारेमा सेवा प्रदायकहरु बिच पनि छलफल गर्नुपर्ने र अन्य निकायहरुसँग पनि छलफल गरेर मात्र अगाडि बढ्नुपर्ने बताए।
यस्तै एक इन्टरनेट सेवा प्रदायकका संचालकले काठमाडौं महानगरपालिकाले तारहरु भूमिगत गर्न आफैंले बजेट दिने र सेवा प्रदायकहरुले उक्त कार्यमा मुख्य सहयोग गर्ने अपेक्षा गरेको बताए।
“तर आइस्पानमा यस विषयमा थप छलफल भएको छैन्। सबै आइएसपीहरु आफैं-आफैंमा प्रतिस्पर्धा गरिरहेका छन् कसरी होला र ?” उनले भने।
उनले दिर्घकालमा यसको परिणाम के हुनसक्छ भन्ने बारेमा पनि सबैले ध्यान दिनुपर्ने बताए।
प्रकाशित: १० असार २०८१, सोमबार