सम्पत्ति शुद्धीकरण गरेको आरोपमा बाइनान्सलाई भारतमा १८ करोड रुपैयाँ जरिवाना

Technology Khabar ७ असार २०८१, शुक्रबार

काठमाडौं ।

शीर्ष क्रिप्टो एक्सचेन्जहरू मध्ये एक बाइनान्सलाई भारतमा २२.५ लाख डलर(लगभग भारु १८.८ करोड) जरिवाना गरिएको छ। फाइनान्सियल इन्टेलिजेन्स युनिट (एफआईयू) ले सम्पत्ति शुद्धीकरण रोकथाम ऐन (पीएमएलए) ऐनको पालना नगरेको कारण यो जरिवाना लगाइएको बिहीबार जनाएको छ।

भारतमा व्यापार गर्न, क्रिप्टोसँग सम्बन्धित फर्महरूले यो कानून पालना गर्नुपर्नेछ।

पीएमएलए कानूनको पालना नगरी देशका नागरिकलाई सेवा प्रदान गरेकोमा बाइनान्सलाई नोटिस जारी गरी प्रश्न उठाएको एफआईयूले विज्ञप्तिमार्फत जनाएको छ। यस ऐन बमोजिमको कर्तव्य पालना नगरेकोमा किन कारबाही गर्न नहुने भनेर एक्सचेन्जलाई यस सूचनामा सोधिएको छ।

बाइनान्सले यसबारे जवाफ दिएको थियो। एफआईयूले बाइनान्स विरुद्ध लगाइएको आरोप सत्य रहेको बताएको छ। यसपछि, एफआईयू निर्देशकले पीएमएलएको धारा १३ अन्तर्गत आफ्नो अधिकार प्रयोग गर्दै एक्सचेन्जमा १८.८२ लाख भारतीय रुपैयाँ जरिवाना लगाए।

यो अमेरिकी एक्सचेन्जलाई सकेसम्म चाँडो देशको पीएमएलए कानूनको पालना गर्ने कुरा सुनिश्चित गर्न निर्देशन दिइएको छ। यस विषयमा बाइनान्सबाट कुनै प्रतिक्रिया आएको छैन ।

हालै अमेरिकामा बाइनान्सका संस्थापक तथा पूर्व प्रमुख कार्यकारी चाङपेङ झाओलाई मनी लान्ड्रिङको आरोपमा चार महिनाको जेल सजाय सुनाइएको थियो । यस मामिलामा एक्सचेन्जमा भारी जरिवाना पनि लगाइएको थियो। चाङपेङलाई अमेरिकाको सिएटलका जिल्ला न्यायाधीश रिचर्ड जोन्सले सजाय सुनाएका थिए।

प्रकाशित: ७ असार २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया