Technology Khabar ७ असार २०८१, शुक्रबार
काठमाडौं ।
केही महिना अघि, एप्पल भिजन प्रो २ कम्तिमा पनि सन् २०२५ को अगस्ट अघि नआउने जानकारी आएको थियो। अब, द इन्फर्मेसनले रिपोर्ट गरेअनुसार एप्पलले भिजन प्रो २ को काम स्थगित गरेको र सन् २०२५ को अन्त्यमा सस्तो मोडेल जारी गर्ने लक्ष्य राखेको दाबी गरेको छ।
त्यसैगरी प्रकाशनले भिजन प्रो २ को विकासका लागि तोकिएका कर्मचारीहरूको संख्या बिस्तारै घटेको र एप्पलले आफ्नो एक आपूर्तिकर्ताले सेकेण्ड–जेन भिजन प्रोको काम स्थगित गरेको बताएको छ।
सस्तो भिजन प्रो हेडसेटको मूल्य कति हुनेछ भनेर कुनै पनि स्पष्ट विवरण उपलब्ध नभएता पनि एप्पलले यसको मूल्य लगभग १,५०० अमेरिकी डलर बनाउने लक्ष्य राखेको द इन्फर्मेसनले बताएको छ।
प्रो मोडेलको तुलनामा कम लागतको भिजनले केही फिचर्स (सुविधाहरू) मा कमी ल्याउने जनाइएको छ। सस्तो भिजनले प्रो मोडेलबाट हाई–इन्डको डिस्प्ले लिनेछ भने यो एक सरल हेडब्यान्ड, साना स्पिकरहरू, र कम संख्याका क्यामराहरूको साथ आउने उल्लेख गरिएको छ।
यद्यपि, एप्पलले धेरै फिचर्स (सुविधाहरू) मा कटौती नगरी सस्तो भिजनको मूल्य घटाउन संघर्ष गरिरहेको बताइएको छ।
एप्पलले भविष्यमा भिजन प्रो २ मा काम पुनः सुरु गर्न सक्ने सम्भावना रहेको भएतापनि अहिलेको लागि भने सस्तो मोडेलमा ध्यान केन्द्रित गर्न भनेर भिजन प्रो २ को विकासको काम स्थगित गरिएको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: ७ असार २०८१, शुक्रबार