
काठमाडौं ।
आज मुस्लिम धर्मालम्बीहरुको महान पर्व बकर इद (इदुल जोहा)का अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा भए पनि जिल्ला प्रशासन कार्यालय भक्तपुरको कोठा नं ८ मा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ सेवाग्राहीको सेवामा व्यस्त देखिन्थे।
दिउँसो ३ बजे हामी त्यहाँ पुग्दा प्रजिअ श्रेष्ठ आफ्नो कार्यकक्षमा छाडेर कोठा नं ८ मा सेवाग्राहीको सेवामा व्यस्त थिईन्। “राससबाट समाचार प्रकाशित भएपछि आज सेवाग्राहीको चाप बढेको छ”, उनले भनिन, “सामान्य दिनमा जस्तै आज सेवाग्राहीको चाप छ।” यसअघि सार्वजनिक बिदामा दुई/चार जना सेवाग्राही मात्रै आउँदा कर्मचारी यत्तिकै बस्नुपर्नेमा आज भने एकैदिन एक सय ५० भन्दा बढी सेवाग्राही आएको उनले जानकारी दिईन्।
गत जेठ ३२ गते ‘सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुल्छन्’ शीर्षकमा समाचार सम्प्रेषण भएको थियो । समाचारको प्रभावस्वरुप आज एकैदिन राष्ट्रिय परिचय पत्रको फाराम भरेर फोटो खिच्न एक सय २५ जनाभन्दा बढी सेवाग्राही आएको, राहदानी वितरण, राहदानीको फाराम भर्न र राहदानी दिन तथा नागरिकता लिन एक सय ५० भन्दा बढी सेवाग्राही आएको प्रजिअ श्रेष्ठले बताईन्।
गृह मन्त्रालयले विसं २०७९ चैत २ देखि राजपत्रमा सूचना प्रकाशित गरी १८ प्रकारका सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सरकारी कार्यालय खोल्ने निर्णय गरेको थियो।
राष्ट्रिय परिचय पत्रदेखि राहदानीका लागि सेवाग्राही बिहान ७ बजे नै लाइनमा बस्न आउने भएपछि कार्यालयले टोकन प्रणाली लागू गरेको थियो। राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीका लागि कार्यालयले दैनिक एक सय जनाका दरले असार १२ गतेसम्मका लागि टोकन वितरण गरिसकेको छ।
कार्यालयमा आज प्रजिअ श्रेष्ठ, सहायक प्रजिअ डोरेन्द्र निरौला, प्रशासकीय अधिकृत अशोककुमार पोखरेललगायत १४ जना कर्मचारीले सेवा प्रवाह गरेका थिए। कार्यालयले राष्ट्रिय परिचयपत्रको फाराम भर्दै तस्बिर खिच्न आजसम्म दुई ओटा टोली खटाएकोमा भोलिदेखि चार ओटा क्यामरा, कम्प्युटरसहितको युनिट खटाइने उनले बताईन।
शनिबार बाहेकका अन्य बिदामा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रसम्बन्धी सबै काम हुने उनले बताईन।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भनिन्, “बिदाको दिनमा हामीले कर्मचारीको एउटा युनिट राखेका हुन्छौँ । सेवा दिइरहेका हुन्छौँ । सार्वजनिक बिदामा दिनमा निकै कम काम हुन्थ्यो । अब सेवाग्राही आजको जस्तै अन्य बिदामा पनि बढ्ने आशा गरेका छौँ ।” रासस
प्रकाशित: ३ असार २०८१, सोमबार