इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा हेरफेर गर्ने यातायात कार्यालयका कर्मचारी पक्राउ

  • Technology Khabar | ३ असार २०८१, सोमबार
इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा हेरफेर गर्ने यातायात कार्यालयका कर्मचारी पक्राउ

काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको आरोपमा यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुखसहित पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा उपसचिव ४५ वर्षीय केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत कम्प्युटर अधिकृत ३७ वर्षीय पदमराज आचार्य, तत्कालीन यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत ३३ वर्षीय सुवास पौडेल, यातायात व्यवस्था कार्यालय चितवनमा कार्यरत सहायक कम्प्युटर अपरेटर ३० वर्षीय राजेश लम्साल र यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यरत सहायक कम्प्युटर अपरेटर ४७ वर्षीय दिलीपकुमार साह रहेको ब्युरोले जनाएको छ।

ब्युरोका प्रवक्ता बोगटीका अनुसार उनीहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद लिई लिखतसम्बन्धी कसुरको अभियोगमा अनुसन्धान भइरहेको छ।

इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा स्थानान्तरण हुन बाँकी सवारीचालक अनुमतिपत्रहरू पेपर कार्ड विधिमार्फत यातायात व्यवस्था कार्यालयले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा इन्ट्री गरी सवारीचालक अनुमतिपत्रहरू वितरण गर्ने व्यवस्था रहेको थियो।

यसरी पेपर कार्ड विधिमार्फत यातायात व्यवस्था कार्यालयहरूले सवारीचालक अनुमतिपत्र वितरण गर्दा यातायात व्यवस्था कार्यालयका कर्मचारीहरूसँग मिलेमतो गरी प्रणालीमा फर्जी विवरण इन्ट्री गरेर सोका आधारमा गैरकानुनी तवरले सवारीचालक अनुमतिपत्र जारी भएको पाइएको ब्युरोले जनाएको छ। गोरखापत्रबाट

प्रकाशित: ३ असार २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...