नास आईटीको लण्डन टेक विकमा सहभागिता

Technology Khabar २ असार २०८१, आईतवार

काठमाडौं ।

नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले विश्वकै ठूलो र प्रभावशाली मध्येको एक प्रविधि प्रदर्शनी लण्डन टेक विकमा आफ्नो सहभागिता जनाएको छ।

जुन १० देखि १४ सम्म ओलम्पिया लन्डनमा आयोजित यस प्रदर्शनीमा नास आईटीका १४ सदस्य कम्पनीहरूले भाग लिएका थिए।

लन्डन टेक विक २०२४ को केन्द्रीय विषयहरूमा कृत्रिम बुद्धिमत्ता (एआई), डेटा सुरक्षा, ग्रीन इन्नोभेसन र उद्यमशीलता जस्ता महत्वपूर्ण विषयहरू समावेश थिए। युएसएआईडीसँगको सहकार्यमा भएको नास आईटीको सहभागिताले नेपालका कम्पनीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर प्रदान गर्न मद्दत गरेको छ।

सहभागी कम्पनीका प्रतिनिधिहरूले भने,”लन्डन टेक विक २०२४ मा सहभागी भएर ग्लोबल आईटी मार्केटको अध्ययन र अवलोकन गर्ने अवसर पायौं।” उनीहरूले यस्ता कार्यक्रमहरूले नेपाली कम्पनीहरूको आत्मविश्वास बढाउने र तिनीहरूको प्राविधिक विकास, बजार व्यवस्थापन र बिक्रीका लागि सहयोग पुर्याउनेमा जोड दिएका छन्।

लन्डन टेक विकले नेपाली कम्पनीहरूलाई आफ्नो आईटी उत्पादन र सेवाहरू विश्वव्यापी दर्शकहरू माझ प्रदर्शन गर्ने महत्वपूर्ण प्लेटफर्म प्रदान गरेको बताईएको छ।

लन्डनस्थित नेपाली दूतावासले जून १२ मा नास आईटी प्रतिनिधिमण्डल, अन्तर्राष्ट्रिय अतिथि र प्रवासी समुदायका लागि विशेष अन्तरक्रिया कार्यक्रम गरेको छ। बेलायतका लागि नेपाली राजदुत ज्ञान चन्द्र आचार्यले आईटी उद्योगको प्रवर्द्धनका निम्ति नेपाल र वेलायत बीचको सहकार्य एकदम महत्त्वपूर्ण रहेको बताएका छन्।

१४ सदस्य कम्पनीहरूका प्रतिनिधिहरू लन्डनमा भएको अवसरको उपयोग गर्दै जुन १४ मा नास आईटीले नेपाली प्रवासी समुदायका आईटी विज्ञ, उद्यमी र लगानीकर्ताहरूलाई लक्षित गरी नेपालको आईटी क्षेत्रको भविष्यबारे छलफल गर्न एक समारोहको आयोजना पनि गरेको उल्लेख छ।

प्रकाशित: २ असार २०८१, आईतवार

तपाइको प्रतिक्रिया