राष्ट्रिय परिचयपत्र बनाउन सकस

Technology Khabar १ असार २०८१, शनिबार

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सास्ती भएको छ। परिचयपत्र बनाउन सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने र निःशुल्क पाइने सेवा भए पनि शुल्कसहित अनलाइनमा फाराम भरेर आउनुपर्ने बाध्यता छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेकाले विवरण भर्नका लागि वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिको बढी भिड लागेको हो ।

सीमान्तकृत समुदायबाट सामाजिक सुरक्षा भत्ता लिइरहेकी व्यास नगरपालिका–१०, डिहीगाउँकी इन्द्रमाया कुसुन्डाले भिड भएकाले दिनभरि कुर्दा पनि पालो नपाएकाले फर्किएको बताईन। विवरण भरेर लाइनमा बस्दा तीन÷चार घण्टा पालो कुर्नुपर्ने अवस्था देखेपछि फर्किएको बताईन्।

कुसुन्डाले भनिन, “टन्टलापुर घाममा घण्टौँ लाममा बस्नु पर्ने भएपछि फर्किएँँ, केही दिनपछि भिड कम हु्न्छ भन्ने सुनेको छु, पछि भर्नुपर्ला ।”

कार्यालयमा अत्यधिक भिड रहेको र अनलाइनमा फाराम नभरेकाले दुई सय तिरेर बाहिरबाट विवरण भर्नु परेको गुनासो कुसुन्डाले गरिन।

सेवाग्राहीको भिड हुँदा कार्यालयमा दुई ओटा सङ्कलन कक्ष रहेकामा दोब्बर बनाएर चार वटा बनाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए।

गाउँ गाउँबाट गाडी रिजर्भ गरेर सेवाग्राही आउने गरेकाले एकै पटक सेवाग्राहीको चाप हुँदा सेवा प्रवाहमा समस्या परेको गौतमले बताए। प्रजिअ गौतमले भने, “भिड धेरै भएकाले बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिँदासमेत सेवा प्रवाहमा समस्या परेको छ ।” जनशक्तिको अभाव हुँदा पालिकास्तरमा खटाउन नसकिएको उनले बताए।

सङ्घीय सरकारले आवश्यक स्थानीय सरकारसँग समन्वय गरेर तालिम प्रदान गरी गाउँ गाउँमा घुम्ती टोली पुर्याउनुपर्ने प्रजिअ गौतम बताउँछन्। जिल्ला प्रशासन कार्यालयमा जनशक्तिको अभाव भएकाले घुम्ती टोली खटाउन नसकिएको उनले बताए।

कार्यालयले राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनका लागि घुइँचो नगरिदिन आग्रह गरेको छ। गोरखापत्रबाट

प्रकाशित: १ असार २०८१, शनिबार

तपाइको प्रतिक्रिया