
काठमाडौं ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले उपचारका लागि आउने बिरामीलाई असार १ देखि अनलाइन टिकट सेवा दिने भएको छ । दैनिक एक हजार पाँच सयभन्दा बढी बिरामीले बहिरङ्ग सेवा लिने उक्त अस्पतालमा बिरामीलाई सुविधा दिन अनलाइन टिकट सेवा सुरु गर्न लागिएको अस्पतालले जनाएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले असार १ देखि अब घरमै बसेर अनलाइन माध्यमबाट सेवाग्राहीले टिकट लिन सक्ने बताए।
यो सुविधा अन्तर्गत सेवाग्राहीले अस्पतालको मोबाइल एप तथा इन्टरनेट ब्राउजरमा गई अस्पतालको वेबसाइटबाट अनलाइन टिकट काट्न सक्ने छन् । उपचारका लागि आफूले भेट्नुपर्ने ओपिडी शाखा छनोट गरी आफूले चाहेको मितिका लागि निःशुल्क रूपमा टिकट काट्न सक्ने व्यवस्था गरिएको डा. ढकालले बताए।
अस्पतालले यो सेवालाई केही समयका लागि परीक्षणकालका रूपमा प्रयोग गर्ने र सफल भएपछि व्यवस्थित गर्दै लैजाने जनाएको छ । अस्पतालमा टिकटकै लागि सेवाग्राहीले घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य गर्न र सेवा थप गुणस्तरीय बनाउन अनलाइन सेवामा जान लागिएको डा. ढकालको भनाइ छ ।
अस्पतालले सुरु गर्न लागेको अनलाइन टिकट सेवामा बिमा सेवा लिनेका लागि भने तत्काल व्यवस्था गरिएको छैन । अस्पतालमा हाल अन्तरङ्ग र बहिरङ्ग गरी दैनिक दुई हजारभन्दा बढी बिरामी सेवा लिन आउँछन् ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. ढकालले अस्पतालको स्वास्थ्य सेवा थप गुणस्तरीय बनाई समयसापेक्ष प्रविधि प्रयोग गरेर सहज पहुँचमा ल्याउन थप सुविधा विस्तार गर्दै जाने बताए। गोरखापत्रबाट
प्रकाशित: १ असार २०८१, शनिबार