नेपाल टेलिकमको फोरजी बिस्तारमा १९ अर्बनै घोटाला भएको आशंका छ- सांसद मोहनबहादुर बस्नेत

Technology Khabar ३२ जेष्ठ २०८१, शुक्रबार

काठमाडौं ।

सांसद मोहन बहादुर बस्नेतले फोरजी सेवामा १९ अर्ब रुपैयाँकै घोटाला भएको आशंका रहेको विचार व्यक्त गरेका छन्।

उनले अहिलेको नेपाल टेलिकमको फोरजी सेवा थ्रीजीबाट अपग्रेड गरिएको धेरै विज्ञहरुले आफूलाई भनेको जानकारी गराए।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट विनियोजनको छलफलमा सांसद बस्नेतले आफूले संचार मन्त्री हुँदा फोरजी सेवाका लागि गराएको ग्लोबल टेन्डरलाई त्यसपछिको सरकारले खारेज गरेर जीटूजीमा गएको बताए।

पूर्व सञ्चार मन्त्री समेत रहेका सांसद बस्नेतले फोरजी बिस्तार गरेका कम्पनीहरुले नै त्यसबेला जीटूजीमा जान भनेर दबाब दिएको खुलासा गरे।

उनले त्यसबेला ग्लोबल टेन्डर गराउँदा नेपाल टेलिकमकै कर्मचारीहरु विभिन्न भेन्डरहरुलाई बोकेर आउने गरेको भन्दै तत्कालिन सञ्चार सचिव केदार बहादुर अधिकारीको सहयोगमा नै ग्लोबल टेन्डर गरिएको बताए।

“हामीले निकै मिहिनेत गरेर ग्लोबल टेन्डरमा गयौं। त्यसबेलाका मेरा सभापति शेरबहादुर देउवाले पनि देश र जनताका लागि जे राम्रो हुन्छ त्यसमै जानुस भन्नु भएको थियो र ग्लोबल टेन्डरमा गएका थियौं,” उनले भने, “तर त्यसपछिको सरकारले उक्त टेन्डर खारेज गरेर जीटूजीमा गयो।”

सांसद बस्नेतले फोरजी सेवाको नाममा खर्च भएको १९ अर्ब रुपैयाँ नै घोटाला भएको विज्ञहरुले आफूलाई भन्दै आएको र त्यसमा अनुसन्धान गर्नुपर्ने बताएका छन्।

“ग्लोबल टेन्डरबाट जीटूजीमा जाँदा कति के हुन्छ भन्ने भन्ने सबैलाई थाहानै छ। फोरजी जुन भनिएको छ त्यो फोरजी होईन्,” उनले दाबी गरे।

यस्तैगरी उनले आफू क्याबिनेटमा रहँदानै सबैको सहमतिमा टिकटक बन्द गरिएको भन्दै फेरी खुलाउन दबाब आएको गुनासो गरे।

“अहिले कहाँबाट आएको हो फेरी खोल्न सकिनेछ भन्ने? माननिय मन्त्रिजीको भाषणमा पनि आईरहेको छ। किन बन्द गर्यौ र किन खोल्ने भन्ने बारेमा जनतालाई बुझाउनुपर्ला नी,” उनले भने।

प्रकाशित: ३२ जेष्ठ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार